‘हामी थप संक्रमितको उपचार गर्न सक्ने अवस्थामा छैनौं’

समाचार

१२ वैशाख, नेपालगञ्ज । १५० वेड, २०३ कोरोना संक्रमित भर्ना । अधिकांश संक्रमितको अवस्था जटिल । जटिल संक्रमित भएर आउने विरामीहरुको संख्या पनि उत्तिकै छ । कोभिड–१९ संक्रमणको हटस्पट बनेको बाँकेको भेरी अस्पतालको अवस्था यस्तै छ ।

सीमित संख्यामा रहेका स्वास्थ्यकर्मीहरुले आफ्नो बुताले भ्याएसम्म उपचार दिने प्रयास गरेका छन् । तर संक्रमण अझ बढिरहेकाले अस्पतालले थप बिरामी राखेर उपचार गर्न सक्ने अवस्था नभएको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

डा. थापासँग गरिएको कुराकानीको सम्पादित अंशः

नेपालको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुनः बढ्न थाल्दा नथाल्दै बाँकेको अवस्था कसरी भयावह बन्यो ?

पोहोर पनि यही समयमा संक्रमण देखिन थालेको थियो । संक्रमण दर बढ्दै एउटा विन्दुमा पुगेपछि घट्न थालेको थियो । अहिले उही समयमा संक्रमण देखियो र बढ्न थाल्यो । तर यो पटक पहिलेको भन्दा फैलिने दर बढी देखियो ।

बाँकेमा गरिएको परीक्षणमा हरेक दिनजसो ४/५ सय नयाँ संक्रमित थपिएका छन्, जसमध्ये धेरैजसो बाँके र केही छिमेकी जिल्ला बर्दियाका छन् । हरेक उमेर समूहका मानिस संक्रमित भएका छन् । जटिलता पनि पहिलेको भन्दा धेरै देखिएको छ । संक्रमण दर बढ्दै जाने र जटिल संक्रमित पनि थपिंदै गइराखेको अवस्थामा अस्पतालले थप बिरामी राखेर उपचार गर्न सक्ने अवस्था छैन ।संक्रमणको स्रोत के रहेछ ?

जति बिरामी छन्, उहाँहरुमध्ये अधिकांश समुदायकै हुनुहुन्छ । हुन त छिमेकी मुलुक भारतसँग खुला सीमा नाका छ । तर भारतबाट संक्रमित भएकाहरु धेरै हुनुहुन्न । बोर्डरमा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएर फाट्टफुट्ट आएका थिए, उनीहरुलाई १० दिनपछि सम्बन्धित जिल्लामा पठाएका छौं ।

तर धेरैजसो ट्राभल हिस्ट्री नभएका र समुदायबाट संक्रमित भएर अस्पताल आएको देखिन्छ । र, उहाँहरुलाई कसरी संक्रमण भयो भन्ने केही खुलेको छैन ।

बाँके जिल्लाले जुन स्थिति भोगिरहेको छ, यति छिट्टै यो अवस्था आउला भन्ने कल्पना थियो ?

हामी कोरोना महमारीबाट गुज्रिदै आएको डेढ वर्ष भइसक्यो । एउटा चरण पार गरेर उन्मुक्ति पाइन्छ कि भन्ने थियो । तर अहिले दोस्रो लहर अझै ठूलो रुपमा देखा परेको छ ।दुई/तीन साताअघिको संक्रमण दरले महामारी फेरि बढ्ने र अप्ठ्यारो दिन तथा भयावह स्थिति भोग्नुपर्ने हो कि भन्ने संकेत दिइसकेको थियो । छिमेकी देश भारतको तथ्यांकले पनि संयमित भएर पूर्वतयारी थाल्न संकेत दिइसकेको थियो । त्यहीअनुरुप हामीले तयारी थालेका थियौं ।

तर अहिले पनि गम्भीर अवस्थाका बिरामीहरुले समेत अस्पतालमा बेड नपाएको देखियो नि ?

भेरी अस्पताल १२० वर्ष पुरानो अस्पताल हो । यस अस्पतालले तीनवटै प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको रिफरल अस्पतालको रुपमा काम गर्दै आइरहेको छ । तीनवटा प्रदेशको संघीय सरकारी अस्पतालको रुपमा विशिष्टीकृत सेवा पनि दिइरहेको छ । त्यसैले यहाँ तीनवटै प्रदेशका बिरामी आउँछन् ।पूर्वतयारीको क्रममा गत वर्ष नै हामीले कोरोना संक्रमितको उपचारका लागि १४२ बेड छुट्याएका थियौं । हरेक बेडमा सेन्ट्रल लाइनबाटै अक्सिजन आउने व्यवस्था मिलाएका थियौं ।

लुम्बिनी प्रदेशबाट कोरोना विशेष अस्पतालका लागि ११३ जना कर्मचारी दरबन्दी पनि स्वीकृत भएको थियो । कन्सल्टेन्ट र मेडिकल अफिसर नपाए पनि अरु जनशक्ति लिएर तयारी अवस्थामा राखेका थियौं । त्यही कारण शुरुका दिनमा उपचार गर्न सहज भयो ।

तर अहिले छोटो समयमा संक्रमण द्रुत गतिले बढिरहेको छ । पोहोर साल संक्रमण दर न्यून थियो । संक्रमित संख्याको यति ठूलो संख्यामा पुग्न ६/७ महिना लागेको थियो ।

तर पछिल्लो समय हप्ता–दश दिनमै संक्रमण फैलिएर संक्रमित संख्या ह्वात्तै बढेको छ र जटिल समस्या भएका बिरामी पनि धेरै आएका छन् । अरु जिल्लाबाट पनि उपचारका लागि आउने भएकाले पनि जटिल अवस्थाका बिरामीको धेरै भएको छ । कतिपय बिरामी समयमा आइपग्छन्, उपचार पाउँछन् । त कतिपय समयमा आइपुग्दैनन्, जसलाई आईसीयू वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । समयमा उपचार नपाएकै कारण ज्यान गुमाउनेहरु पनि छन् ।यद्यपि हामीले अस्पतालको पूर्वाधार र जनशक्तिले भ्याएसम्म सक्दो उपचार गरेका छौं । आजको दिनमा अस्पतालमा २०३ जना बिरामी उपचाररत हुनुहुन्छ । जबकि हामीले छुट्याएको बेड संख्या १४२ हो, जसमा अक्सिजन पाइपलाइन छ ।

बिरामीको संख्या धेरै भएपछि अक्सिजन पाइप लाइन भएका बेडहरुमा जटिल प्रकारका लक्षण देखिएकाहरुलाई राखेका छौं । अरुलाई हल र खाली कोठामा बेड मिलाएका छौं ।

अस्पतालमा अहिले उपचाररत बिरामीको उपचारका लागि जनशक्ति पर्याप्त छ त ?हामीसँग जनशक्तिको सीमितता छ । सामान्य अवस्थामा १५० बेड सञ्चालन गर्न पनि हामीसँग जनशक्तिको कमी थियो । कोरोना विशेष अस्पताल बनाएर ६० बेड चलाउन थालेपछि केही जनशक्ति प्राप्त भएको थियो । त्यही जनशक्तिले अहिले २०३ जना कोरोना संक्रमितको उपचार गरिराखेका छौं ।

पर्याप्त जनशक्ति नभएका कारण स्वास्थ्यकर्मीले समयमा खान र सुत्न समेत पाएकाे अवस्था छैन । एक पटक राउण्ड लगाउन समेत ४/५ घण्टा लाग्छ । बिरामी सन्तुष्ट हुने गरी गुणस्तरीय उपचार दिन नसके पनि सीमित स्रोत, साधन र जनशक्तिबाट धेरै जनालाई सेवा दिइरहेका छौं ।संक्रमण गएर गम्भीर अवस्थामा पुगेका बिरामीहरुले पनि बेड नपाएर फर्किनुपर्ने अवस्था रहेछ । यसलाई सम्बोधन गर्न केन्द्र र प्रदेश सरकारलाई केही भन्नुभएको छैन ?

जनशक्तिको पाटोमा स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग समन्वय गरेका छौं ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ति माग गरेका छौं । भर्ना गर्ने प्रक्रिया अघि बढाउनुस् भन्नुभएको छ, त्यो काम तरुन्तै शुरु गर्छौं । विगतमा प्रदेश सरकारबाट स्वीकृत भएको दरबन्दीमा पनि पूरै पदपूर्ति भएको थिएन । अहिले बाँकी जनशक्ति भर्ना प्रक्रिया थालेका छौं ।

नेपालगञ्ज उपहानगरपालिकाले ३० जना स्टाफ नर्स, २० जना हेल्थ असिस्टेन्ट र दुई जना नर्सिङ अफिसर उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुसार भर्ना प्रक्रिया पनि अघि बढाएको छ । यो जनशक्ति पायौं भने हामीले उपचार दिन सक्ने २१० जनासम्म बिरामीलाई सहज तरिकाले सेवा दिन सक्छौं ।

तत्कालको अवस्थामा के–के भयो भने महामारीसँग लड्न सजिलो हुन्छ ?

अस्पतालको पूर्वाधार, स्रोत, जनशक्तिको सीमितता छ । हाल २०३ जनाकाे उपचार गरिरहेका छौं । यो कसरी गरेका छौं, हामी आफैंलाई नै थाहा छैन ।

२०३ जना बिरामीको उपचार गर्न कम्तीमा १०० जना नर्सिङ स्टाफ आवश्यक छ । ३० मेडिकल अफिसर चाहिन्छ । हामीसँग अहिले एक जना मात्र एनेस्थेसिस्ट हुनुहुन्छ, कम्तीमा १० जना पुर्‍याउनुपर्छ । १५/२० जना फिजिसियन चाहिन्छ । हामीसँग सरसफाइकर्मी पनि कम हुनुहुन्छ ।ठूलो संख्यामा बिरामी उपचार गर्दा त्यहाँबाट निस्किने फोहोर व्यवस्थापन पनि चुनौती हुन्छ । त्यसैले सबैभन्दा महत्वपूर्ण पाटो जनशक्ति अभाव खड्किरहेको छ ।

अक्सिजनको पनि समस्या देखिएको छ । जति धेरै बिरामी राख्यो, त्यति अक्सिजन खपत बढ्दैछ । हामीसँग भएका अक्सिजन सप्लाइ थेग्न नसक्ने अवस्थामा छ । यो धेरै खर्चिलो पनि छ । प्रतिदिन साढे २ देखि ३ लाख रुपैयाँ अक्सिजनमा खर्च भएको छ । अक्सिजन सरल तरिकाले आपूर्ति गर्न वैकल्पिक उपाय पनि खोज्नुपर्नेछ ।

अस्पतालको फिभर क्लिनिकमा पनि लामो लाइन छ । पीसीआर जाँच गराउनेहरुको लाइन पनि छ । एकै स्थलबाट विभिन्न सेवा ठूलो संख्यामा दिंदा त्यही भीडबाट संक्रमण फैलिने खतरा छ । अहिले जुन ठाउँमा ठूलो संख्यामा संक्रमितको उपचार गरिरहेका छौं, त्यहीँ पीसीआर परीक्षण गर्न धेरै मान्छे आउँदा अप्ठ्यारो भइरहेको छ । त्यसैले हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुले लक्षण देखिएकाहरुको स्वाब संकलन गरेर ल्याबमा पठाइदिए हुन्थ्यो ।महामारी जटिल अवस्थामा पुगेका बेला सर्वसाधारणलाई के अपील गर्न चाहनुहुन्छ ?

हामीले नसोचेको अवस्था दोस्रो पटक आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड के हो ? कोरोनाबाट बच्न र बचाउन के गर्नुपर्छ ? हामी सबैलाई थाहा छ, तर हामीले व्यवहारमा उतारेका छैनौं । अहिले पनि लकडाउन नभएको क्षेत्रमा मास्क नलगाउने, भीडभाड गर्ने गरेको देखिन्छ । यसलाई तत्काल बदलौं ।