विराटनगरमा तस्करीका सामान खोज्दा पेस्तोल भेटियो

समाचार

१३ वैशाख, विराटनगर । तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।

विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।तस्करीको कपडा र हार्डवेयरका सामाग्री लुकाएको आशङ्कामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ विराटनगर–७ धाडेवा रोडमा रहेको गोदाममा पुगेको थियो । गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।पेस्तोल भेटिएपछि गोदामका कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई पक्राउ गरिएको उनले बताए ।प्रहरी स्रोतका अनुसार रौनियारले आफूसँग कारोवार गर्ने व्यक्तिलाई तर्साउनका लागि पेस्तोल राखेको बताएका छन् । तर पेस्तोल भेटिएपछि सुजित कुमार साहले आफूले नै राखेको स्वीकार गरेका थिए । ‘रानीमा पेस्तोल भेटेपछि ल्याएर राखेको साहको तर्क छ,’ प्रहरी स्रोत भन्छ, ‘रौनियारको कारोवार पारदर्शी छैन, आफ्ना कारोवारीलाई तर्साउनका लागि रौनियारले नै राखेको आशङ्का छ ।’