प्रदेश १ मा कोरोना : अलमलियो सरकार, असन्तुष्ट फ्रन्टलाइनर

राष्ट्रिय समाचार

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी र सरकारी अस्पतालको आइसोलेसनमा विरामी बढेका छन् ।

आइतबारबाट आइसोलेसन सुरु गरेको नोबेल मेडिकल कलेजमा ७ जना विरामी छन् । विराट मेडिकल कलेजमा २२ र प्रदेश सरकारले सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्रमा ३२ जना सङ्क्रमित छन् । कोभिड १९ उपचार केन्द्रको क्षमता १८० बेडको हो । तर सोमबारसम्म ३२ वटा मात्रै बेडमा विरामी राखिएको छ । जनशक्ति नभएका कारण नागरिक समाजले निर्माण गरिदिएको बेड प्रयोगविहीन छन् । नेशनल ट्रेड लिङ्कको दुईतले भवनमा बनेको उपचार केन्द्रको भुइँतलामा विरामी राखिएको छैन । अक्सिजनसहितको दोस्रो तलाका बेडमा मात्रै विरामी छन् ।

उपचार केन्द्रमा जनशक्ति कम हुँदा १२ घण्टासम्म पिपिई लगाएर काम गर्नुपर्ने अवस्था रहेको नर्स दिब्या श्रेष्ठले जानकारी दिइन् । १२ घण्टा डिउटी गरेपनि खाना र क्वारेन्टिन व्यवस्थित नभएको उनको गुनासो छ ।

यता सङ्क्रमण रोकथाम गर्ने जिम्मेवारी पाएको प्रदेश १ सामाजिक विकास मन्त्रालय भने अलमलिएको छ । गत चैत १३ गते नयाँ मन्त्री पाएको सामाजिक विकास मन्त्रालय पूर्व तयारीमा अल्मलिएको हो । मन्त्रालय अल्मलिदा कोरोना सङ्क्रमितको उपचारमा खटिएका फ्रन्टलाइनर आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता, क्वारेन्टिन र खानाको माग गर्दै सोमबार काम छाडेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी आइतबारसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिएर काममा फर्किएका छन् ।