अभिषेकले बुटवलबाट एनएसएल खेल्ने

खेलकुद

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । बुटवलले अभिषेकलाई विदेशी खेलाडीको स्थानमा टिममा राखेको हो ।

बुटवलका महाप्रबन्धक राजुकाजी शाक्यले अभिषेकले बुटवलबाट खेल्ने पुष्टि गरे । ‘हामीले उनलाई विदेशी खेलाडी अर्मान्डको स्थानमा टिममा राखेका हौं,’ शाक्यले अनलाइनखबरसँग भने ।एनएसएल अघि भारतीय लिगमा अइजवाल एफसीबाट खेलेकाले अभिषेक अक्सनका लागि लिस्टमा थिएनन् भने एनएसएलका लागि आइकोनिक प्लेअरको रुपमा थिए । तर उनलाई कुनै टिमले अनुबन्ध गरेको थिएन । अभिषेकले भारत र माल्दिभ्सको लिगमा खेलिसकेका छन् ।

आई लिग खेलेका किरण चेम्जोङलाई भने धनगढी एफसीले आइकोनिक प्लेयरको रुपमा अनुबन्ध गरेको थियो ।

एनएसएलमा उत्कृष्ट शुरुवात गरेको बुटवल चार खेल खेल्दा ५ अंकसहित चौथो स्थानमा छ । बुटवलले अब लिगमा ललितपुर सिटी एफसी र धनगढी एफसीसँग खेल्न बाँकी छ ।