ट्वीटरमा नयाँ फिचर, मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने

सूचना प्रविधि

२५ वैशाख, काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो प्लेटफर्ममा नयाँ फिचर शुरु गरेको छ । ‘टिप जार’ भनिएको उक्त फिचरमार्फत ट्वीटर प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै ट्वीटर प्रयोगकर्तालाई नगद टिप दिन सक्नेछन् ।

ट्वीटरको प्लेटफर्ममा अनुपम सिर्जनाहरु पस्किएर संवादलाई जीवन्त राख्नेहरुलाई सहयोग गर्नका लागि नयाँ फिचर सजिलो माध्यम बन्ने ट्वीटरले जनाएको छ ।तत्कालका लागि ट्वीटरले निश्चित पत्रकार, विज्ञ, गैरनाफामूलक प्रयोगकर्तालगायतका लागि यो टिप प्राप्त गर्न पाउने फिचर शुरु गरेको छ । यद्यपि ट्वीटरको टिप जार फिचरले प्रयोगकर्ताका इमेल ठेगाना लगायतका सूचनाहरु एक्सपोज गरिदिएको भन्दै ट्वीटरको आलोचना भएको छ ।

टिप जार फिचरअन्तर्गत प्रयोगकर्ताको प्रोफाइलमा एउटा सानो आइकन थपिएको छ । तत्कालका लागि यो फिचर मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । मोबाइलको ट्वीटर एपमा युजर प्रोफाइलको ड्रपडाउन मेन्यूमा उक्त टिप जार फिचर रहेको छ, जहाँ अनलाइनमार्फत पैसा पठाउने पेपल, भेन्मो तथा क्यास एपलगायतका भुक्तानी प्रदायकहरुको लिंक दिइएको छ ।

यसका साथै टिप जार फिचरमार्फत संगीत क्षेत्रमा लोकप्रिय प्लेटफर्म ‘ब्याण्डक्याम्प’ तथा डिजिटल सर्जकका लागि लोकप्रिय प्लेटफर्म ‘प्याट्रिओन’मा समेत भुक्तानी गर्न सकिनेछ ।

तेस्रो पक्षको माध्यमबाट रकम पठाइने भएको हुँदा खासगरी पेपलबाट रकम पठाउँदा रकम दिने मानिसको ठेगाना प्रापकले थाहा पाउने भन्दै कतिपय प्रयोगकर्ताले ट्वीटरलाई सूचित गरेका छन् ।साइबर सेक्युरिटी विज्ञ राचेल टोब्याकले यस विषयमा कुरा उठाएपछि ट्वीटरका अधिकारीले धन्यवाद दिंदै पेपलले प्रयोगकर्ताका सूचनालाई कसरी राख्दछ भन्ने कुरामा ट्वीटरको कुनै नियन्त्रण नहुने बताएका छन् ।

टिप जार फिचरमा प्रयोगकर्ताका कुन–कुन विवरण अरुले थाहा पाउँछन् भन्ने विषयमा प्रयोगकर्तालाई जानकारी अध्यावधिक गराइने ट्वीटरले जनाएको छ ।

पेपलले भने ट्वीटरको टिप जार फिचरमा रकम पठाउँदा ‘गुड्स एण्ड सर्भिस’ अप्सनको साटो ‘फ्रेण्ड्स एण्ड फ्यामिली’ अप्सन छनोट गरेमा रकम पठाउने मानिसको ठेगाना प्रापकले नपाउने प्रष्ट पारेको छ ।

तत्कालका लागि निश्चित प्रयोगकर्तालाई मात्र टिप दिन सकिने गरी टिपजार फिचर शुरु गरेको ट्वीटरले निकट भविष्यमै धेरैभन्दा धेरै प्रयोगकर्ताको प्रोफाइलमा यो फिचर थप हुने जनाएको छ ।

यद्यपि पत्रकारका लागि टिप जार फिचर उपलब्ध गराएको विषयमा चासो उत्पन्न भएको छ । स्वतन्त्र तथा निष्पक्ष रहनुपर्ने र समाचारका लागि कतैबाट उपहार लिन नहुने मर्यादामा बस्नुपर्ने पत्रकारले ट्वीटरबाट टिप प्राप्त गर्न सक्ने विषयलाई सञ्चार संस्थाहरुले कसरी लिन्छन् ? भन्ने विषय निकै महत्वपूर्ण रहेको छ ।

यो फिचरले पत्रकारलाई सूचना बेचेर पैसा कमाएको आरोप लाग्नसक्ने कतिपयको ठम्याइ छ ।

बीबीसीको सहयोगमा