भक्तपुर प्रहरीले बाँड्यो ९५ थान अक्सिजन सिलिण्डर

समाचार

२६ वैशाख, काठमाडौं । भक्तपुरका तीन र ललितपुरको एक गरी चार अस्पतालमा ९५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुर इन्टरनेशन अस्पताल लोकन्थलीमा १२, भक्तपुर अस्पतालमा ५५ र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।गिरीका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरले अल्का अस्पताल ललितपुरलाई पनि तीन थान भरिएको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

अक्सिजन चाहिने कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै अस्पतालहरुमा अक्सिजन अभाव भएको छ । सो अभाव टार्न उद्योग र निर्माण क्षेत्रमा प्रयोग भएका, लुकाएर राखिएका अक्सिजन सिलिण्डरहरुको खोजी गरी सरकारले वितरणको व्यवस्था मिलाउँदै आएको छ ।