अरुलाई होइन, आफैलाई बदलौं

स्वास्थ्य

अहिले कोरोना महाव्याधिले सर्वत्र सन्त्रास फैलाएको छ । यतिबेला यो संक्रमणबाट बच्ने सर्वोत्तम विकल्प भनेको भौतिक दूरी र मास्कको प्रयोग नै हो । यो ज्ञान अधिकांशलाई छ । तर, हामीमध्ये धेरैजसो अनुशासित ढंगले यी कुराहरु पालना गरिरहेका छैनौं । हाम्रो प्रवृत्ति के छ भने यो सबै काम अरुले गर्ने हो । फलानोले मास्क लगाएन, फलानोले भौतिक दूरी कायम गरेन भनेर औल्याउँछौं । जबकि हामी आफै भने यस्तो सतर्कता अपनाउन कन्जुस्याँई गरिरहेका हुन्छौं ।

आम प्रवृत्ति हो, अरुलाई बदल्न खोज्ने तर आफुलाई भने नबदल्ने । यसै सन्दर्भमा यहाँ एउटा दृष्टान्त दिइएको छ ।एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य–चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै हरियो होस् । राजाले देख्ने सबै कुरा हरियो हुनुपर्छ ।’

राजाले आफ्नो आसपासका सबैकुरा हरियो बनाउन लगाए । कपडा हरियो लगाउन थाले । उनले प्रयोग गर्ने सरसामाग्री हरियो बनाइयो । कतिसम्म भने, उनले खाने खाना पनि हरियो बनाइयो ।

एक पटक त्यही बाटो भएर एक साधु हिँडिरहेका थिए । उनले राजाको दरवारमा हरियो नै हरियो देखे । आखिर उनले मन थाम्न सकेनन् । र, त्यसबारे जिज्ञासा राखे । तब, राजा बिरामी भएको उनले थाहा पाए र सो बाट मुक्त हुनका लागि हरियो रंग सर्वत्र प्रयोग गरिएको थाहा पाए ।

उनी राजाकहाँ पुगे र भन्न थाले, ‘महाराज, तपाईं कुन कुन कुरालाई हरियो रंगमा बदल्नु हुन्छ ? हरेक चिजलाई बदल्न संभव छैन ।’

राजाले सोधे, ‘त्यसो भए के गर्ने त ?’

‘हरेक चिजलाई हरियो रंगमा बदल्न संभव छैन’ साधुले सुझाए, ‘बरु राम्रो त यो हुन्छ कि, हरियो चस्मा लगाउनुहोस् । तपाईंले देख्ने सबै कुरा हरियो देखिनेछ ।’

यो कथाको मर्म मननयोग्य छ । हामी आफ्नो अनुकुलता अनुसार सबै कुरा खोज्ने गर्छौं । आफुलाई केन्द्रमा राखेर हरेक कुराको मूल्यांकन गर्छौं । यो त्यस्तो हुनुपर्छ, यो यस्तो हुनुपर्छ भनेर अपेक्षा गर्छौं । फलानोले यसो गरे हुन्थ्यो, फलानोले यसो नगरे हुन्थ्यो भन्ने लाग्छ । वास्तवमा हरेक मान्छेको आफ्नै मानविय स्वभाव एवं प्रवृत्ति हुन्छ । गुण र अवगुण हुन्छ । उनीहरुलाई हामी आफु अनुकुल बदल्दै जान सक्दैनौं ।

बरु आफुलाई बदल्ने हो । जब आफुलाई बदल्छौं, संसार आफ्नो अनुकुल देख्छौं । सबै आफन्त देख्छौं । सबै मित्रवत् देख्छौं । सबै कुरा सकारात्मक देख्छौं ।

हामी जब परिवर्तनको कुरा गर्छौं, जब प्रगतिको कुरा गर्छौं, जब क्रान्तिको कुरा गर्छौं । यसका निम्ति अरुलाई अगाडि सार्छौं । फलानोले यसोगर्नुपर्छ, उसो गर्नुपर्छ, यसो गरे हुन्थ्यो, त्यसो गरे हुन्थ्यो भन्ने सोच्छौं । तर, हामी आफुमाथि कुनै प्रश्न गर्दैनौ । आफुलाई बदल्ने कुरा नै सोच्दैनौ । जबकी संसार बदल्नु छ भने, हामी आफै बद्लिनु आवश्यक छ ।

प्रत्येक व्यक्ति उसले जस्तो चाहन्छ, त्यस्तै रुपमा बद्लिन सक्छ । अरुलाई बदल्न जति असहज वा असंभव हुन्छ, आफुलाई बदल्न उत्तिनै सहज हुन्छ । अरुलाई राम्रो बनाएर संसार राम्रो देखिने होइन । आफु राम्रो भएपछि संसार राम्रो देखिने हो । अर्थात बस्तुलाई आफ्नो रुची अनुरुपको रंगमा बदल्ने होइन, बरु आफ्नो हेराई बदल्ने हो ।

हामी अक्सर गुनासो गर्छौं, ‘फलानोले यसो ग¥यो, उसो ग¥यो ।’ अर्काको व्यवहार र विचारबाट हामी कहिले खुसी त कहिले दुखी भइरहेका हुन्छौं ।

धेरैजसो त हामी अरुबाट बढी अपेक्षा राख्छौं । अरुलाई आफु अनुकुल बनाउने प्रयास गर्छौं । अरुले के गर्छ, के भन्छ, के सोच्छ, त्यसमा सरोकार राख्छौं । हो, यही कुराले हामीलाई दुखी तुल्याउँछ । निरास तुल्याउँछ । किनभने संसारमा कुनैपनि व्यक्ति हामीले सोचेजस्तो हुन सक्दैन ।

हामी आफुलाई जसरी सोच्छौं, उसले पनि उसको जीवनलाई त्यसैगरी सोचेको हुन्छ । उसको निम्ती हामी अनुकुल हुन सक्दैनौ भने अरुबाट हामीले किन त्यस्तो अपेक्षा राख्ने ?

अब हामी आफैलाई बदलेर हेरौं । सबै कुरा राम्रो देखिनेछ । सबै राम्रो लाग्ने छ ।

हामी के कुरामा जोड दिन्छौं भने, मेरो सबै समस्याहरु सल्टाउन पाइयोस् । मेरो समस्या सबैले बुझे हुन्थ्यो । मेरो समस्या समाधानका लागि सबैले सहयोग गरे हुन्थ्यो ।अब यही कुरा हामी अर्काको आँखाबाट हेरौं । फालनोको समस्या मैले बुझिदिनुपर्छ । फलानोको समस्या समाधानका लागि मैले पहल गरिदिनुपर्छ । हो, यो ढंगले हामी कहिल्यै सोच्छौं ।

हामी सधै आफुलाई केन्द्रमा राखेर सोच्छौं । त्यही कारण अरुबाट हामी केही न केही अपेक्षा गरिरहेका हुन्छौं । तर, अरुको पनि आफ्नै समस्या हुन्छन्, आफ्नै अप्ठ्यारा हुन्छन् । उनीहरुलाई आफ्नै समस्याले घेराबन्दीमा पारेको हुन्छ । त्यस्तो अवस्थामा हामी आफ्नो मात्र कुरालाई महत्व दिएर सोच्नु बेकार हुन्छ ।

हाम्रो नराम्रो बानी भनेको, अरुलाई दोष दिने हो । आफ्नो काम ठिक ढंगले सम्पन्न भएन, आफुले सोचेजस्तो सबैकुरा ठिकठाक भएन भने हामी अरुलाई दोष दिन्छौं । अरुप्रति नकारात्मक धारणा बनाउँछौं ।

तर, हामी आफ्नो लागि हामी आफै दोषी हुन्छौं ।

संसारका सबै मानिसको व्यवहार, बुझाई, हेराई एकनास हुँदैन । मैले जुन कुरालाई राम्रो देखें, त्यो कुरालाई उसले पनि त्यही दृष्टिले हेर्नुपर्छ भन्ने छैन । मैले कुनैपनि कुरालाई जसरी बुझें, त्यो कुरालाई उसले पनि त्यसरी नै बुझ्नुपर्छ भन्ने छैन । तर, हामी के चाहन्छौं भने, मैले जे देखें, जसरी बुझें त्यही अनुरुप अरुले पनि बुझ्नुपर्छ । यो गलत धारणा हो ।

मानिसको सोंच, सोच्ने तह, धरातल अलग हुन्छ । हामीले त्यसलाई बदल्न सक्दैनौं ।

आफुलाई बदल्ने एउटै कडी भनेको आफु सकारात्मक रहने हो । सबैप्रति समान दृष्टिकोण र धारणा राख्ने हो ।संसारमा कोही पनि कहिले पनि पूर्ण हुन सक्दैन । तर, अपूर्ण हुँदैमा निरास हुनुपर्ने केही छैन । अपूर्ण हुँदैमा सबै कुरा तहसनहस हुने पनि होइन । जे, जति उपलब्ध छ, त्यसैमा रमाउनुपर्छ । जे छ, त्यसमै सन्तुष्ट गर्नुपर्छ ।

सबै कुराप्रति सकारात्मक दृष्टि र सोंच राख्नुपर्छ । यसले हामीलाई कहिल्यै दुखी हुन दिनेछैन ।