रियलमड्रिड, बार्सिलोना र युभेन्ट्सलाई युईएफएले थाल्यो कारवाही

खेलकुद

१२ जेठ, काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले स्पेनिस क्लबद्वय रियल मड्रिड र बार्सिलोना अनि इटालियन क्लब युभेन्ट्सलाई कारवाही गर्ने भएको छ ।

सुपर लिग प्रोजेक्टमा सहभागी भएको भन्दै युइएफएले युरोपको तीन ठूला क्लबमाथि कारवाहीको प्रक्रिया अघि बढाएको हो ।केही समयअघि यी तीन क्लबसँगै युरोपका १२ क्लबले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए । तर त्यसको सबैतिरको आलोचना र विरोध भयो भने फिफा र युइएफएबाट चेतावनी आएपछि ९ क्लबले संस्थापक सदस्यबाट नाम फिर्ता लिएका थिए ।

स्पेनका दुई क्लब र युभेन्ट्सले भने अझै पनि सुपर लिग आयोजकबाट नाम फिर्ता लिएका छैनन् । युइएफएले मंगलबार विज्ञप्ति जारी गर्दै तीन क्लबविरुद्ध कारबाही अगाडि बढाउने पुष्टि गरेको हो । कस्तो कारवाही गर्ने भन्नेबारे युइएफएले केही खुलाएको छैन ।

युरोपियन सुपर लिग संस्थापकबाट प्रिमियर लिग क्लब चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनहम हटस्पर, स्पानिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान गरी ९ क्लबले नाम फिर्ता लिएका थिए ।

तीन क्लबको कारवाही प्रकिया एक महिना चल्न सक्ने बताइएको छ । यदि ठूलो कारवाही भएमा यी क्लबले अर्को सिजनको च्याम्पियन्स लिग वा दुई सिजनको घरेलु लिगबाट बाहिर रहने र ठूलो मात्रामा जरिवाना लाग्ने सम्भावना स्पेनिस अनलाइन मार्काले जनाएको छ ।