तरकारी ढुवानी गर्ने गाडीमा पनि जोर-बिजोर प्रणाली

समाचार

१२ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले अनलाइनखबरलाई बताए ।उनका अनुसार करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएका छन् । उपत्यका प्रशासनले तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको छ । तर प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको छैन ।

कालिमाटी तरकारी बजारमा किनमेलको नाममा भिड बढेको गुनासो पनि बढेको छ । धेरै गाडी भएर चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर–बिजोर प्रणाली लगाउनुपरेको भट्टराईले बताए ।