दुई दिनमै तोडियो विश्व एथ्लेटिक्समा कीर्तिमान

खेलकुद

२६ जेठ, काठमाडौं । एथ्लेटिक्सको १० हजार मिटरको महिला दौडमा विश्व कीर्तिमान दुई दिनमै तोडिएको छ ।

इथोपियन धाविका लेटेसेनबेट गिडेले मंगलबार नयाँ विश्व कीर्तिमान बनाएकी छिन् ।ओलम्पिक ट्रायल अन्तर्गतने दरल्यान्ड्सको हेन्गेलोमा मंगलबार भएको दौडमा उनले २९ मिनेट ०१.०३ सेकेण्डको समयमा निर्धारित दूरी पूरा गर्दै दुई दिनअघि नेदरल्याण्ड्सकी सिफान असनले बनाएको कीर्तिमान भंग गरेकी हुन् ।

सिफानले आइतबार त्यही ट्रयाकमा २९ मिनेट ०६.८२ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

२३ वर्षीय गिडेले विश्व कीर्तिमान बनाउने आशाका साथ दौडिएको बताइन् । ‘म विश्व कीर्तिमानको अपेक्षासहित दौडिएको थिएँ । म फेरि विश्व कीर्तिमान तोड्ने चाहन्छु र २९ मिनेटको कीर्तिमान बनाउँछु,’ उनले भनिन् ।

उनी इनग्रिड क्रिस्टिएनसेनपछि ५ हजार १० हजार मिटरमा विश्व कीर्तिमान बनाउने पहिलो महिला खेलाडी हुन् । नर्वेकी क्रिस्टिएनसेनले १९८६ देखि १९९३ सम्म उक्त कीर्तिमान बनाएकी थिइन् ।

लेटेसेनबेटको नाममा ५ हजार मिटरको दौडमा समेत कीर्तिमान रहेको छ । उनले गत वर्ष स्पेनको भ्यालेन्सियामा ५ हजार मिटर दौड १४ मिनेट ०६.६२ सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।

उनले सन् २०१९ मा दोहामा भएको वर्ल्ड च्याम्पियसिपमा रजत जितेकी थिइन् ।