अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने, जुलाई २० मा उडान

सूचना प्रविधि

विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अन्तरिक्षयात्रामा जाने भएका छन् ।

आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट यान न्यू शेर्फडको पहिलो मानवयुक्त उडानमा बेजोस अन्तरिक्षमा जाने भएका हुन् ।बेजोसको अन्तरिक्ष उडान आगामी जुलाई २० तारेखका लागि तय भएको छ । जुलाई ५ मा अमेजनको सीईओ पदबाट राजीनामा दिने घोषणा गरिसकेका बेजोसले अमेजन प्रमुखको जिम्मेवारीबाट मुक्त भएसँगै अन्तरिक्षको यात्रामा जाने सोँच बनाएका हुन् ।
ब्लु ओरिजन कम्पनीका अनुसार उक्त उडानमा बेजोससँगै उनका कान्छा भाइ मार्क बेजोस पनि सँगै हुनेछन् ।

सोमबार बिहान इन्स्टाग्राममा पोस्ट गर्दै ५७ वर्षीय बेजोसले भनेका छन् : म पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्थेँ । जुलाई २० मा म मेरो भाइसँगै उक्त यात्रामा निस्कनेछु । सबैभन्दा ठूलो एडभेन्चर, मेरो सबैभन्दा असल साथीसँग ।
यदि बेजोसको योजना सफल भएमा उनी आफ्नै कम्पनीले तयार पारेको रकेटमार्फत् अन्तरिक्षमा पुग्ने पहिलो अर्वपति हुनेछन् । उनको कम्पनीले रकेटयान निर्माणका लागि करोडौँ डलर खर्च गरिसकेको छ ।

स्मरण रहोस् अन्तरिक्ष कम्पनी भर्जिन ग्यालाक्टिकका मालिक बेलायती अर्बपति रिचार्ड ब्रान्सनले समेत निकट भविष्यमा अन्तरिक्ष उडानको योजना बनाएका छन् । उनको कम्पनी ब्लु ओरिजिनसँग प्रत्यक्ष प्रतिस्पर्धामा रहेको छ ।

भर्जिन ग्यालाक्टिकको पहिलो रकेटयुक्त जहाजको उडानबाट आफु अन्तरिक्षयात्रामा जाने ब्रान्सनले घोषणा गरिसकेका छन् ।

उनको अन्तरिक्ष उडान यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा हुनसक्ने अनुमान गरिएको छ ।

उता अन्तरिक्ष उडानका लागि व्यवसायिक रकेटहरु निर्माण गरी प्रक्षेपणसमेत गरिसकेको स्पेस एक्स कम्पनीका मालिक अर्बपति एलन मस्कले चाहिँ अहिलेसम्म अन्तरिक्ष यात्रा गर्ने सोँच सार्वजनिक गरेका छैनन् ।जेफ बेजोसको अन्तरिक्ष यात्रामा ५९ फुटको रकेटसँगै ६ सिट भएको क्याप्सुल प्रयोग हुनेछ । ११ मिनेटको उडानमा रकेट पृथ्वीभन्दा ६० माइल माथि पुग्नेछ।

पछिल्लो ६ वर्षसम्म न्यु शेर्फड नामक रकेट तथा क्याप्सुलको गहन तथा गोप्य परीक्षण पश्चात् गत मे महिनामा ब्लु ओरिजिन कम्पनीले उक्त यानबाट पहिलोपटक अन्तरिक्षयात्रीलाई पठाउने घोषणा गरेको थियो ।

उक्त ६ सिटे क्याप्सुलमा यात्राका लागि कतिवटा टिकट बिक्री गर्ने भन्ने विषयमा कम्पनीले कुनै जानकारी गराएको छैन । तर एउटा सिट चाहिँ हाल अगाडि बढाइएको लिलामीको बिजेतालाई प्रदान गरिनेछ । हालसम्मको लिलाम बढाबढमा उक्त एक सिटको शुल्क २८ लाख डलर पुगिसकेको छ ।

सिएनएनबाट