विश्वकप छनोटबाट नेपाल बाहिरियो, एसिया कप छनोटमा यस्तो छ बाटो

खेलकुद

२५ जेठ, काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि नेपाल एसियाली क्षेत्रको दोस्रो चरणको छनोटबाट बाहिरिएको छ ।

विश्वकप र २०२३ को एसिया कपको संयुक्त छनोटको रुपमा रहेको एसियाली क्षेत्रीय छनोटको दोस्रो चरणको खेलमा सोमबार जोर्डनसँग ३–० गोलले पराजित भएपछि नेपालको विश्वकप छनोटको यात्रा औपचारिक रुपमै समाप्त भएको हो । समूह बी मा रहेको नेपालले अब अष्ट्रेलियासँग अन्तिम खेल खेल्न बाँकी छ ।

एसियाली क्षेत्रीय छनोटको आठ समूहमध्ये प्रत्येक समूहको समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट चार टिम विश्वकपको लागि तेस्रो चरणको छनोटमा प्रवेश गर्नेछन् ।

समूहमा पाँचौ हार बेहोरेपछि नेपाल आफ्नो समूहमा चौथो हुने पक्का भएको छ । यस समूहमा अष्ट्रेलिया लगातार ६ खेल जित्दै १८ अंकसहित शीर्ष स्थानमा छ भने नेपाललाई पराजित गरेको जोर्डन १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । कुवेत १० अंकसहित तेस्रो स्थानमा छ ।

लगातार सात खेल हारेको चाइनिज ताइपेई अंकविहीन हुँदै पुछारमा छ । नेपालसँगै चाइनिज ताइपेई पनि विश्वकप छनोटको यात्राबाट बाहिरिएका छन् ।

नेपालको अबको बाटो

विश्वकपको यात्रा सकिए पनि नेपालले अझै एसिया कपको लागि छनोट खेल्नेछ । यदि समूहमा दोस्रो वा तेस्रो हुन सकेको भए नेपाल एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्ने थियो । तर समूहमा चौथो स्थानमा रहने पक्का भएको नेपालले त्यो अवसर गुमाइसकेको छ ।

अब नेपालले अष्ट्रेलियासँग खेल्न बाँकी रहेकाले नेपालले सिधै तेस्रो चरणको छनोटमा स्थान बनाउन लगभग असम्भव नै छ ।

तर नेपालको यात्रा टुङ्गिएको भने छैन । नेपालले तेस्रो चरणको छनोटमा पुग्न अब प्लेअफ हुँदै जानुपर्नेछ ।अहिले भइरहेको छनोटबाट उत्कृष्ट १२ टिम सिधै एसिया कपमा छनोट हुनेछन् भने त्यसपछि १६ टिम एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । एसिया कपमा २४ टिमले प्रतिस्पर्धा गर्ने भएकोले बाँकी १२ स्थानका लागि तेस्रो चरणको छनोट हुनेछ । त्यसमा थप ८ टिम प्लेअफमार्फत नै आउनेछन् ।

त्यसैले नेपालले अबको यात्रा प्लेअफबाट हुनेछ । प्लेअफमा अहिले छनोट खेलिरहेका ८ समूहमध्ये पाँचौ हुने टिम र चौथो हुनेमध्ये कमजोर ४ टिमले खेल्नेछ ।

समूह एचमा रहेको उत्तर कोरियाले कोरोनाको कारण नाम फिर्ता लिएपछि प्लेअफका लागि अब ११ टिम मात्र हुनेछ । उत्तर कोरियाले नाम फिर्ता लिएपछि हरेक समूहमा दोस्रो हुने र पाँचौ हुने तथा चौथो हुने र पाँचौ हुने टिमबीचको नतिजा र त्यसको अंक गणना हुनेछैन । त्यसैले नेपालले दुई खेल जित्दै ६ अंक जोडे पनि त्यो अन्तिम स्थानको चाइनिज ताइपेई विरुद्ध भएकोले तेस्रो चरणमा जानका लागि नेपालको त्यो अंक गणना हुनेछैन ।

अहिलेसम्म प्लेअफका लागि ६ टिम छनोट भइसकेका छन् । जसमा समूह ए बाट गुआम, समूह बी बाट चाइनिज ताइपेई, समूह सी बाट कम्बोडिया, समूह एफबाट मंगोलिया, समूह जी बाट इन्डोनेसिया र समूह एचबाट श्रीलंका छन् ।

सिधै तेस्रो चरण पुग्ने सम्भावना सकिसकेकाले नेपाल पनि यो सूचीमा थपिनेछ । यसबाहेक दक्षिण एसियाकै बंगलादेश र माल्दिभ्सले पनिप्लेअफ नै खेल्नुपर्ने सम्भावना धेरै देखिएको छ । बाँकी टिमको टुङ्गो समूह चरणका खेलहरु सकिएपछि नै हुनेछ ।

अहिलेसम्म आयोजक चीनसँगै छनोट चरण पार गरेका जापान, कतार र सिरिया एसिया कपका लागि छनोट भइसकेका छन् । यस्तै जापान र सिरिया विश्वकपका लागि तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् । कतार आयोजकको नाताले सिधै विश्वकपमा छनोट भइसकेको छ । त्यसैले कतारबाहेक बाँकी ७ समूहको विजेता र उपविजेतामध्ये उत्कृष्ट ५ गरी कुल १२ टिम एसियाबाट विश्वकपका लागि तेस्रो चरणको छनोटमा पुग्नेछन् ।