आत्मघाती गोलको सहयोगमा फ्रान्सले जर्मनीलाई हरायो

खेलकुद

२ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले युरोकप २०२० मा विजयी सुरुआत गरेको छ । विश्व विजेतासमेत रहेको फ्रान्सले मंगलबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो ।

समूह एफ अन्तर्गत जर्मनीको घरेलु मैदानमा भएको खेलमा डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए ।

म्युनिकमा भएको खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले क्रस गरेको बल बचाउने क्रममा हुम्ल्सले आफ्नै पोष्टमा गोल गरेक थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

ग्रुप अफ डेथको रुपमा रहेको समूह एफमा यस जितपछि फ्रान्सले ३ अंक जोडेको छ । त्यसअघि साविक विजेता पोर्चुगलले हंगेरिलाई ३-० ले पराजित गर्दै ३ अंक जोडिसकेको छ ।

अब अर्को खेलमा फ्रान्सले हंगेरी तथा जर्मनीले पोर्चुगलसँग खेल्नेछ । दुवै खेल जुन १९ मा हुनेछ ।