पर्सामा पनि मनाइयो राष्ट्रिय धान दिवस

समाचार

१५ असार, वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ ।

धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ दिवस मनाईएको कृषि ज्ञान केन्द्र पर्साका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले बताए ।सशस्त्र प्रहरी बल १३ नं गणले गणमा कार्यरत सवारी चालक वीरगञ्ज–१८ जगरनाथपुरका सुरेन्द्र ठाकुरको खेतमा रोपाई गरेर दिवस मनाएको हो ।

वीरगञ्ज महानगरपालिकाले वडा नं ३१ मा आयोजना गरेको रोपाई कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी सहभागी भएका थिए । नगरप्रमुख सरावगीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट ल्याइएको बताए ।

‘कृषकका समस्या समाधान गर्न महानगर गम्भीर छ । वडा नं ३१ मा चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गर्ने लक्ष्य राखेका छौं’ नगर प्रमुख सरावगीले भने, ‘कृषकको कदम कदममा साथ दिन महानगर तयार छ ।’

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पनि धान दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालले जानकारी दिए । महुवनस्थित खेतमा धान रोपेर धान दिवस मनाइएको उनले बताए ।

पटेर्वासुगौली गाँउपालिकाले पनि धान दिवस मनाएको छ ।