मुग्लिन-नारायणगढ सडकको चारकिलोमा फेरि पहिरो

समाचार

१८ असार, चितवन । मुग्लिन–नारायणगढ सडकको चारकिलोमा पुनः पहिरो आएर सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान ५ बजेबाट बन्द रहेको उक्त सडकखण्ड दिनभर सञ्चालनमा आउन सकेको छैन ।

फेरि पहिरो थपिएपछि राति सडक सञ्चालन हुने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शुक्रबार बिहानै गएको पहिरो हटाउने क्रममा पुनः माथिबाट ठूलो पहिरो थपिएपछि सडक खुल्ने सम्भावना कम भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।‘हिजो राति सडक सञ्चालन गरेर सुतेको हो, बिहान उठ्दा फेरि पहिरो आएर उस्तै भयो, पानी आउने बित्तिकै पहिरो झर्छ, उनले भने, ‘अन्यत्र खासै समस्या छैन, चारकिलो, कालीखोला र जलवीरेमा बढी नै दुःख दिएको छ ।’

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा बिहीबारदेखि निरन्तर पहिरो गइरहेकाले सडक पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । मुग्लिन नारायणगढ सडकको वैकल्पिक सडक प्रयोग गर्नसमेत प्रहरीले अनुरोध गरेको छ । पहिरो पन्छाउने क्रम जारी छ ।

मुग्लिन–नारायणगढ सडकको चारकिलो, पाँचकिलो, कालीखोलालगायतका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । जलवीरे र चौधकिलोमा सडक एकतर्फी भएको छ । चौधकिलोमा बिहीबार साँझ पहिरोसँगै ठूलो ढुंगा खस्दा सडक आधा बन्द भएर यहाँ एकतर्फी भएको छ । ढुंगासँगै आएको लेदो हटाइएको छ भने ढुंगा त्यहीं नै छ । ठूलो ढुंगालाई ‘रक ब्रेकर’मार्फत फुटाउने तयारी भइरहेको छ ।