जेफ बेजोसको अन्तरिक्ष यात्रामा चार जना, ८२ वर्षकी महिलालाई पनि लैजाने

सूचना प्रविधि

पर्खाइको फल मिठो हुन्छ भन्ने उखान अमेरिकाकी एक महिलामा लागू भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको मर्क्युरी कार्यक्रम अन्तरगत अन्तरिक्ष यात्राका लागि ६० वर्ष अगाडि नै तालीम लिएकी वाली फंकले त्यतिबेला अन्तरिक्षमा जान पाइनन् । तर उनको त्यो आधा शताब्दीदेखिको अन्तरिक्षमा जाने पर्खाइ अब भने पूरा हुने भएको छ ।

हाल ८२ वर्ष उमेरकी फंक विश्वका नम्बर वान अर्बपति जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा जाने भएकी छिन् ।जुलाई २० मा हुने आफ्नो अन्तरिक्ष उडानका लागि जेफ बेजोसले उनलाई पनि छनोट गरेका हुन् । योसँगै ब्लु ओरिजिन कम्पनीको रकेटबाट जेफ बेजोससँगै उनका भाइ, २ करोड ८० लाख डलरमा टिकट खरीद गरेका एकजना व्यक्तिका साथै वाली फंक गरी चारजना अन्तरिक्ष उडानमा जाने पक्का भएको हो ।

ब्लु ओरिजिन कम्पनीले बिहीबार एक घोषणा गर्दै न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुवाहक उडानमा जेफ बेजोस, मार्क बेजोस, टिकट खरीदकर्ता सँगै ८२ वर्षकी फंक पनि सहभागी हुने जनाएको हो ।

फंकलाई न्यु शेर्फडको उडानमा सम्मानित पाहुनाको रुपमा समावेश गरिएको बेजोसको इन्स्टाग्राम पोष्टमा उल्लेख छ । इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा बेजोसले फंकलाई उनी पनि अन्तरिक्ष मिसनमा सहभागी हुने खुलासा गरेका छन् र त्यो सुन्दा फंक उत्साहित भएर चिच्याएको र बेजोसँग अंकमाल गरेको देखिन्छ ।

सन् १९६१ मा सञ्चालित अन्तरिक्षमा महिला कार्यक्रमको नामले समेत चिनिने Mercury 13 कार्यक्रमका लागि फंकले काम गरेकी थिइन् । निजी लगानीको उक्त कार्यक्रमको उद्देश्य नासाको सुरुआती अन्तरिक्ष कार्यक्रमहरुका लागि महिलालाई तालीम दिनु थियो । उक्त कार्यक्रममा १३ जना महिला सबै खाले तालीम तथा परीक्षणमा समेत सहभागी भए तर अन्तरिक्ष उडानमा भने ७ जना पुरुषहरु मात्र छनोट भए ।उक्त कार्यक्रमबाट दीक्षित हुनेमा फंक सबैभन्दा कम उमेरकी युवती थिइन् । उनले केटाहरुले भन्दा पनि निकै राम्रोसँग र छिटो तरिकाले आफ्नो काम पूरा गरेको बताइएको थियो । उनले Mercury 13 को परीक्षणका क्रममा सेन्सर डिप्राइभेसन ट्यांकभित्र १० घण्टा ३५ मिनेट बिताएकी थिइन् र चर्चित अन्तरिक्ष यात्री जोन ग्लेनलाई पनि पछि पारेकी थिइन् । तर नासाले उनलाई अन्तरिक्षयात्रीका रुपमा कहिल्यै छनोट गरेन ।

आफूले ४ पटकसम्म नासामा गएर आफू अन्तरिक्षयात्री बन्न इच्छुक रहेको भनी अनुरोध गर्दासमेत कसैले पनि आफूलाई मौका नदिएको र सबैजनाले आफूलाई महिला भएकै कारण अन्तरिक्षमा जान नसक्ने भनी जवाफ दिएको उनको अनुभव छ ।

फंक निकै अनुभवी पाइलट पनि हुन् । उनीसँग १९ हजार ६ सय घण्टा जहाज उडाएको अनुभव छ भने निजी तथा व्यवसायिक जहाजहरु कसरी उडाउने भने ३ हजार जनाभन्दा धेरैलाई तालीम दिइसकेकी छिन् । तर उनको त्यो अनुभव ब्लु ओरिजिनको रकेटमा भने काम लाग्नेछैन । किनकी उक्त रकेट सिस्टम तथा यान पूरै स्वचालित हुनेछ ।

स्मरण रहोस् फंकले बेलायती अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकको जहाजमार्फत् अन्तरिक्षमा जानका लागि सन् २०१९ मै टिकट खरीद गरिसकेकी थिइन् । उक्त कम्पनीका मालिक ब्रान्सन आगामी जुलाई ११ मा अन्तरिक्ष यात्रामा जाँदैछन् । ब्रान्सनका प्रतिस्पर्धी जेफ बेजोसँग नै अन्तरिक्ष उडानमा जाने भएपछि भर्जिन ग्यालाक्टिकसँग किनेको टिकटको उपयोग उनले भविष्यमा गर्छिन् वा गर्दिनन् त्यस बारेमा केही बताएकी छैनिन् ।