इटली र इंग्ल्याण्डको युरोकप फाइनल यात्रा

खेलकुद

२४ असार, काठमाडौं । युरो २०२० को १६ औं संस्करणको उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

एक पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्याण्ड पहिलो पटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो ।११ वटा देशका शहरमा एकसाथ आयोजना भएको युरोकपमा यस पटक दुवै आयोजक फाइनल पुगेका छन् । समूह ए मा रहेको इटलीले समूह चरणको सबै खेल घरेलु मैदानमा खेलेको थियो । इंग्ल्याण्डले क्वार्टरफाइलबाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो ।

अब फाइनल खेल आगामी आइतबार इंग्ल्याण्डकै घरेलु मैदान वेम्बलीमा हुनेछ ।

समूह चरणको तीनवटै खेल जितेको इटलीले कुनै गोल खाएको थिएन । इंग्ल्याण्डले क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन भने सेमिफाइनलमा एक गोल खायो ।

इटलीले यसअघि सन् १९६८ मा घरेलु मैदानमै युरोकपको उपाधि जितेको थियो । त्यसयता २००० र २०१२ को फाइनल पुगेको इटली पराजित भएको थियो ।

फाइनलसम्म पुग्दा अपराजित रहेको दुवै टोली त्यसलाई कायम राख्दै उपाधि जित्ने दाउमा छन् । इंग्ल्याण्ड पहिलो पटक फाइनल पुगेपछि अहिले ‘फुटबल कमिङ होम’ भनेर इंग्लिस मिडिया र फ्यानमार्फत ठूलो चर्चा भइरहेको छ । केहीले भने ‘फुटबल गोइङ रोम’ समेत भनिरहेका छन् ।

इटलीले फाइनल पुग्दा १२ गोल गरेको छ भने ३ गोल खाएको छ । उता इंग्ल्याण्डले अहिलेसम्म १० गोल गर्दा १ गोल मात्र खाएको छ ।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले ४ गोल गरेका छन् भने रहिम स्टर्लिङले ३ गोल गरेका छन् । इटलीका पाँच खेलाडीले २-२ गोल गरेका छन् ।

सर्वाधिक गोल गर्ने सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अघि छन् । उनले ५ गोल र १ असिस्ट गरेका छन् । यस्तै चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेका छन् । फ्रान्सका करिम बेन्जिमा ४ गोलसहित तेस्रो स्थानमा छन् ।

इटलीको फाइनल यात्रा

समूह चरण

इटलीविरुद्ध टर्की ३-० ले विजयी

इटलीविरुद्ध स्वीट्जरल्याण्ड ३-० ले विजयी

इटलीविरुद्ध वेल्स १-० ले विजयी

प्रिक्वार्टरफाइनल

इटलीविरुद्ध अष्ट्रिया २-१ ले विजयी

क्वार्टरफाइनल

इटलीविरुद्ध बेल्जियम २-१ ले विजयी

सेमिफाइनल

इटलीविरुद्ध स्पेन ४-२ ले विजयी (पेनाल्टी सुटआउट)

इंग्ल्याण्डको फाइनल यात्रा

समूह चरण

इंग्ल्याण्डविरुद्ध क्रोएसिया १-० ले विजयी

इंग्ल्याण्डविरुद्ध स्कटल्याण्ड गोलरहित बराबरी

इंग्ल्याण्डविरुद्ध चेक रिपब्लिक १-० ले विजयी

प्रिक्वार्टरफाइनल

इंग्ल्याण्डविरुद्ध जर्मनी २-० ले विजयी

क्वार्टरफाइनल

इंग्ल्याण्डविरुद्ध युक्रेन ४-० ले विजयी

सेमिफाइनल

इंग्ल्याण्डविरुद्ध डेनमार्क २-१ ले विजयी