नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी

समाचार

१६ साउन, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताले गर्ने अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पु¥याउने उद्देश्यले समझदारी भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ ।

समझदारी पत्रअनुसार ती अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझावलाई व्यवहारमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न समूहले आफ्ना सञ्चार माध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा) मार्फत भूमिका निर्वाह गर्नेछ ।

विश्वविद्यालयले पनि आफूले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरु समूहलाई उपलब्ध गराउनेछ । ती सामग्रीहरु सार्वजनिक गर्दा लाग्ने आर्थिक स्रोत उपलब्ध भएसम्म विश्वविद्यालयले समूहलाई उपलब्ध गराउने छ ।

अन्य स्रोतहरुको पहिचान र परिचालनमा पनि सहकार्य गर्ने समझदारी भएको छ । यसैगरी वातावरण र दिगो विकासका मुद्दाहरुमा दुई संस्थाले संयुक्त रुपमा राष्ट्रिय बहसका कार्यक्रम पनि गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा नेपाल वातावरण पत्रकार समूहका तर्फबाट अध्यक्ष कसमस बिश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले समझदारी पत्रले दुई संस्थाबीचको सहकार्यको बाटो खोलेको बताए ।

नेपाल वातावरण पत्रकार समूह ३५ बर्ष पहिले स्थापना भएको वातावरण पत्रकारहरुको संस्था हो भने काठमाडौं विश्वविद्यालय २९ बर्ष पहिले स्थापना भएको प्राज्ञिक संस्था हो ।समझदारी पत्रमा हस्ताक्षर गरेका प्रा. डा. सुबोध शर्माले काठमाडौ विश्वविद्यालयलाई अनुसन्धानमा अग्रणी शैक्षिक संस्थाको रुपमा चिनाउन यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘हामीले लिएको शिक्षा र डिग्रीहरुले समाजलाई के दियो ?’, शर्माले भने, ‘यही प्रश्नको जवाफ यो समझदारीले दिनेछ ।’

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस बिश्वकर्माले अध्ययन÷अनुसन्धानलाई आम नागरिकले बुझ्ने गरी जनतामाझ पुर्याउन आफूहरु तयार रहेको बताए । समूहले आफ्नो श्रव्यदृश्य कार्यक्रम आँखीझ्याल, रेडियो सगरमाथा, अनलाइन तथा छापामाध्यममार्फत् विश्वविद्यालयका गतिविधिलाई सार्वजनिक गर्ने उनले जानकारी दिए ।