बंगलादेशले अष्ट्रेलियालाई हरायो

खेलकुद

बंगलादेशले पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराएको छ।
मंगलबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो। टी-ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो ऐतिहासिक जित हो। यसअघि बंगलादेशले टी-ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन ।
बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा अलआउट हुँदै १ सय ८ रनमा समेटियो।
उसका लागि मिचेल मार्शले ४५, मिचेल स्टार्कले १४ र कप्तान म्याथ्यू वेडले १३ रन बनाए ।
अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । खराब ब्याटिङ गर्नेक्रममा अष्ट्रेलिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन खेलाडी शून्यमा आउट भएका थिए । ओपनर जोश फिलिपे ९, मोइजेस हेनरिक्स १, एश्टन अगर ७, एश्टन टर्नर ८, एलेक्स केरी, एडम जाम्पा र एन्ड्रयू टाई शून्यमा आउट भए ।
बलिङमा नसुन अहमदले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा १९ रन खर्चिएर ४ विकेट हात पारे ।
त्यस्तै, मुश्तफिजुर रहमान, शोरिफुल इस्लामले दुई/दुई, शकिबअल हसन र मोहदी हसनले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि शकिबअल हसनले ३६, मोहम्मद नइमले ३०, अफिफ हुसेनले २३ र कप्तान महमुदुल्लाहले २० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा जोश हेजलवुडले तीन, मिचेल स्टार्कले दुई, एडम जम्पा र एन्ड्रयू टाईले एक/एक विकेट हात पारे ।
यो जितसँगै पाँच खेलको सिरिजमा बंगलादेशले १-० को अग्रता बनाएको छ ।
बंगलादेश र अष्ट्रेलियाबीचको दोस्रो टी-२० म्याच भोलि बुधबार हुनेछ ।