एक निर्दोष नेपाली जो २० वर्ष भारतीय जेलमा थुनिए

समाज

वसन्त यसै पनि राजा ऋतु । त्यसमाथि गाउँमा नयाँ उल्लास थपिएको छ । बाजा घन्किएको छ । हूलका हूल मानिस नरेन्द्र मगरको बाटो हेरिरहेका छन्, जो पूरा २४ वर्षपछि गाउँ फर्कंदैछन् ।

२८ वर्षअघि नरेन्द्र र ढुंगी रोका विवाह बन्धनमा बाँधिदा बेस्सरी पानी परेको थियो । गाउँका बूढापाकाले कानेखुसी गरेका थिए– ‘यस्तरी पानी पर्नु त शुभ–संकेत होइन है ।’
यो खासखुस दुलहा–दुलहीको कानमा पनि पुग्यो । तर, इष्टमित्रले सम्झाए– ‘जोडी मिलेकै छ, तिमेरलाई केही हुन्न ।’
विवाहपछिका चार वर्ष ठीकठाकसँग बित्यो । एक छोरा र एक छोरी जन्मिए । प्रधानपञ्चका माइला छोरा नरेन्द्रलाई खासै दुःख थिएन । असल व्यवहार र कामकाजी स्वभावका कारण उनी गाउँमा सबैको प्यारो थिए ।

एक दिन अचानक उनको छाती दुख्न थाल्यो । देशमा माओवादीले युद्ध चर्काइरहेको बेला उनको छातीको व्यथा बढ्दै गयो । उपचारका लागि धनगढी, नेपालगञ्ज वा काठमाडौं जान रोल्पा, जेल्बाङका मगरका लागि खतरापूर्ण थियो । कालापार (भारत) मा भने आफन्त पनि थिए । उता कालापारमा त उपचार पछि काम गरेर कमाउन सकिने सम्भावना पनि थियो । यी सब पक्षमा विचार गरेर नरेन्द्र २४ वर्षअघि हिमाञ्चल प्रदेशको सिमलास्थित सानीआमाको डेरामा पुगे ।

त्यहाँ पनि सरकारी अस्पतालमा राम्रो उपचार नहुने रहेछ । उनले सानीआमाको समेत आडभरोसामा निजी अस्पतालमै औषधोपचार गर्न थाले ।

६ माघ २०५४ को मध्यान्ह औषधि खाएर डेरामा सुतिरहेको बेला नरेन्द्रमाथि अपरिचित व्यक्तिहरूबाट सांघातिक आक्रमण भयो । होशमा आउँदा अस्पतालको बेडमा आफूलाई पाए । टाउकोमा १६ टाँका लगाइएको थियो । एउटा दाँत झरेको थियो । त्यो अवस्थामा पनि उनी प्रहरीको घेरामा थिए ।

कसले, किन कुट्यो ? अस्पताल कसले पुर्यायो ? पुलिसले किन घेरेको छ ? उनी छक्क परे । रोल्पाको गाउँबाट उपचार गराउन सिमला पुगेको उनलाई हिन्दी त के नेपाली समेत बोल्न आउँदैनथ्यो ।

उनी एक हप्तापछि डिस्चार्ज त भए तर, डेरा जान पाएनन्; सीधै प्रहरी हिरासत पुगे । त्यहाँ थाहा पाए, उनीमाथि आक्रमण भएकै बेला सानीआमाको हत्या भएको रहेछ ।
प्रहरीले छातीका रोगी उनलाई भयंकर यातना दियो । अन्त्यमा एक बालिकालाई हत्याको साक्षी बनाएर सिमलाकै कैठू जेल चलान गरियो । उनलाई आजीवन कैद सजाय सुनाइएको थियो ।

त्यो बेला अहिले जस्तो सञ्चार सुविधा थिएन । जेलमा कसैसँग भेटघाट गर्न पनि दिइएन । जीवनले जसोतसो कानूनी सहयोग पाए, तर उनी र वकिलले एकअर्काको कुरा नबुझ्ने । घटना अगाडि निदाएकोले केही थाहा नपाएको, होशमा आउँदा आफूलाई अस्पतालको बेडमा पाएको लगायत उनको अवस्थाको व्याख्या वकिलले गर्न सकेनन् ।

सिमला उच्च अदालतमा पुनरावेदन भएर अधिवक्ता विमल गुप्ताले बहस त गरे, तर तल्लो अदालतकै आदेश सदर भयो ।

‘आत्महत्या गरौं–गरौं जस्तो लाग्थ्यो’

नरेन्द्रले हिमाञ्चलका विभिन्न जेलमा २४ वर्ष बिताए । जेल्बाङमा ९ कक्षा पास गरेका उनी जेलमा +२ सकेर राजनीतिशास्त्रमा स्नातक दोस्रो वर्षमा पुगेका थिए । तर, जेल सरुवामा सबै रिपोर्ट नबुझाइँदा उनको पढाइ पनि अवरुद्ध भयो ।

जेलको साँघुरो कोठा, फरक–फरक भाषाका कैदी । वातावरण नै उकुसमुकुसपूर्ण थियो । नाहान जेलमा छँदा सुनसरीका अर्जुन राईले आत्महत्या गरे । त्यो घटनाले नरेन्द्र मगरलाई धेरै विचलित बनायो । ‘एकदिन छुट्छु नै भन्ने विश्वासले मात्र बाँचें’, उनी भन्छन् ।

नरेन्द्रले गाउँमा आमाबुवा बितेको ६ महीनापछि सुने । त्यो खबरले उनलाई विक्षिप्त नै बनायो । त्यसपछि उनलाई आत्महत्या गरौं–गरौं जस्तो लागिरहन्थ्यो । छोरा भेट्न आएको क्षण

कहिलेकाहीं जीवनसंगिनी ढुंगीसँग फोनमा कुरा गर्ने मौका मिल्थ्यो । तर, लामो समय बन्द संसारमा बसेका उनले मातृभाषा नै बिर्सन्थे । ढुंगीलाई खामबाहेक अर्को भाषा आउँथेन ।

एकदिन नरेन्द्रको सेलमा आएका एक जवानले झुक्दै ‘बुवा नमस्कार !’ भने । चार वर्षको हुँदा घरमा छोडेको उनका छोरा थिए ती युवक । उनी भारतीय सेनामा भर्ती भएर बाबुलाई भेट्न जेलमा आएका थिए ।

छोरालाई छुन जेलरसँग अनुनय–विनय गरेपछि नरेन्द्रले हात मिलाउन पाए । त्यो क्षणमा आफूलाई छोराछोरीले बाटो नबिराएको, ढुंगीले आमाबावु दुवैको अभिभारा पूरा गरेको भन्ने लागेको उनी बताउँछन् ।

‘एउटा सुन्दर सुबह आयो’

नरेन्द्र मगरमा अँध्यारो र स्थिर जिन्दगीको आदत बसेको थियो । परिवार, आफन्त र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको पाँचवर्षे प्रयासपछि २०७७ चैत ३१ गते जेल मुक्त भएपछि निकै गाह्रो भएको उनी बताउँछन् ।

‘कुछ समय त निदाउनै सकिनँ’, खाम, नेपाली र हिन्दी सराबरी मिसाएर बोल्ने उनी भन्छन्, ‘पता नही, अन्दर से क्या–क्या खुस उर्लेर आउँथ्यो ।’

जेलमुक्त हुनुअघि उनलाई यति भनिएको थियो– तिमीलाई लिन बोर्डरमा नेपालबाट मान्छे आउनेछन् । तर, को आउँछन् ? थाहा थिएन ।

सुनवलमा उनले जीवनसंगिनी, छोरी र भाइलाई देखे । नरेन्द्र र ढुंगीले एकअर्काको अनुहारमा २४ वर्षले छोडेर गएको छापहरू नियाले । गाउँ पुग्दा त स्वागत महोत्सवकै वातावरण थियो । नरेन्द्र भावविह्वल भए ।

‘लगा, यो सबकुछ एउटा सपना था’, नरेन्द्र भन्छन्, ‘म लामो निदबाट ब्यूँझिएँ । अनि एउटा सुन्दर सुबह आयो ।’