सुन-चाँदी मिश्रित गहनासहित पर्साबाट एक जना पक्राउ

समाचार

२४ साउन, वीरगञ्ज । प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।

आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया लगायत २६३ थान गहना फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

तौल गर्दा सुनका गहनाहरु १४ दशमलव ४ सय ग्राम रहेकोमा ७० प्रतिशत र चाँदीका गरगहना १ हजार ९७० ग्राम भएकोमा ४८ प्रतिशत मात्रै शुद्धता देखिएको सुनचाँदी व्यवसायी संघ पर्साले जनाएको छ ।

गरगहनामा १० दशमलब ०८ ग्राम शुद्ध सुन भेटिएकाले बजार भाउअनुसार त्यसको मूल्य ७८ हजार २१० रुपैयाँ र ९४६ ग्राम शुद्ध चाँदी भेटिएकोमा १ लाख १ हजार ६९५ रुपैयाँ देखिएको छ ।