कांग्रेसको निम्ति चुनौतीपूर्ण अध्यादेशको भारी

समाचार

कांग्रेस सभापति शेरबहादुर देउवा स्वयम् आफैंलाई ‘च्यालेन्ज’ गरेर सभापतिको तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधिलाई सभापति हुनबाट रोक्न चाहन्छन् ! सभापतिकै अर्का प्रत्यासी रामचन्द्र पौडेलको ‘अघिल्लो महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले धोका दिएको भन्दै दुखाएको चित्त’ फर्किएको छैन ! त्यसो त, राजनीतिक रूपमा प्रखरता, रणनीति र रचनात्मकता भएर पनि घेरा फराकिलो बनाउन नसकेकै कारण सिटौलाले पार्टीमा ‘साख’ आर्जन गर्न सकेनन् !

कांग्रेसको सैद्धान्तिक पुनर्जीवन हालका सभापति देउवाबाट सम्भवै नभएकाले स्वयम् कांग्रेसकै पुनर्जीवनका निम्ति देउवाको विकल्प बेगर कांग्रेस तङ्गि्रनै नसक्ने आदि विश्लेषण र बुझाइ कांग्रेस निकट बुद्धिजीवीहरूको छ । नेता देउवा, पौडेल र सिटौलाका बारेको यो बुझाइ र टिप्पणीलाई नै सही मान्ने हो भने कांग्रेसको वैचारिक द्विविधा चिर्नका लागि पनि ‘बौद्धिक र सफा छवि’ का नेताको खोजी १४औं महाधिवेशनमा कांग्रेसजनले गर्नै पर्दछ ।

कांग्रेस पार्टी स्वयम् ‘मास्ड वेष्ट’ पार्टी भएकैले तल्ला तहका कार्यकर्ताले पनि सीधै केन्द्रीय नेतृत्वसँग नै ‘एक्सेस’ खोज्दछन् । ‘जहाज’रूपी देशैभर छरिएर रहेका कार्यकर्ताको ‘राडार’रूपी केन्द्रीय नेतृत्वसँग सहज ‘एक्सेस’ हुन सकेन । न त, केन्द्रीय नेतृत्वले पार्टीलाई नेतामुखीबाट नीतिमुखीमा रूपान्तरण नै गर्न सक्यो ! यही अवस्था कायमै रहँदा पार्टी स्वयम् एउटा निजी स्वार्थ पूरा गर्ने क्लबको रूपमा रूपान्तरण बन्दै गयो ! उमेरले पाका ‘वृद्ध’ नेताहरूबाट खासै आशा राख्ने ठाउँ नभए पनि परिवर्तनको खोजी गरिरहेका युवा नेताबाट मुलुकले आशा राखेकै हो । तर, फुर्सदको समय विभिन्न कुरा गरेर हिंडे पनि नेतृत्व चयनका समयमा स्वयम् युवा पनि ‘छहारी’ खोज्दै हिंड्ने प्रवृत्तिले पार्टीमा अवश्य पनि नयाँपन भेटिंदैन । बहुमूल्य ‘सुनाखरी’का रूपमा झांगिएका युवा नेताहरूको पनि हुर्कन, बढ्न ‘वृद्ध वृक्ष’ नै चाहिने भएपछि वृद्धहरूलाई पदीय घोडाबाट ओराल्न सम्भवै छैन । छहारी खोज्ने प्रवृत्तिबाट विचारले युवा भनिएका नेताहरू मुक्त हुनै पर्दछ ।

अहिलेकै नेतृत्व चयनले जनतामा भारी निराशाका अलावा दर्जनौं प्रश्नको सामना कार्यकर्ताले गर्नैपर्ने स्थिति आउन सक्छ, जुन प्रशिक्षण बेगरका कार्यकर्ताका लागि निकै चुनौतीपूर्ण सावित हुनेछ अर्काे प्रसंग, पार्टीमा छलफल बेगर नै दल विभाजन गर्ने अध्यादेश सरकारले अगाडि सारेको छ ।

कोभिड, बाढी-पहिरोको अलावा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशकै कारण मुलुकमा असामान्य परिस्थिति निर्माण भएबाहेक भदौ १८ मा कम्तीमा कांग्रेसको वडा अधिवेशन हुने नै देखियो । हुन त, कांग्रेस ‘नेता निर्माण’ गर्ने एउटा प्रयोगशाला बन्दै आएको छ । कम्तीमा १४औं महाधिवेशनले पार्टीलाई ‘विधि प्रधान’ पार्टी निर्माण गर्ने इच्छाशक्ति भएको नेतृत्व चयन गर्न सक्दा मात्र ७५ वर्षीय इतिहास बोकेको पार्टी जनस्तरमा पुनःस्थापित हुने हो । अन्यथा ज्योतिषकै भर पर्ने हो भने ‘रामराम …’ भन्ने बाहेक विकल्प रहन्न । तेस्रो पुस्ताका नेताहरू डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल आदिको तहबाट सभापतिमै उम्मेदवारी प्रस्तुत गर्नुपूर्वको आजको अवस्थामा सभापतिका प्रत्यासीहरू डा. शेखर, विमलेन्द्र, प्रकाशमान सिंह र शशांक कोइराला आदि नै हुन् ।

दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएसँगै मुलुकको राजनीतिले नयाँ मोड लिने निश्चितप्रायः छ । अल्पकालीन दृष्टिले आगामी निर्वाचनका लागि कांग्रेसलाई एमाले र मधेशवादी दलको विभाजनले अंकगणितका हिसाबले राम्रै गर्ला तर कालान्तरमा कांग्रेस नेतृत्वको यो सरकारको ‘दल विभाजन’ सम्बन्धी निर्णय हिजोको प्रधानन्यायाधीश सुशीला कार्की र आइजी प्रकरण जस्तै बन्ने निश्चित छ । तसर्थ पनि कांग्रेसजनले ‘नयाँ भिजन’ सहितको वैकल्पिक नेतृत्व चयन नै उत्तम विकल्प हो । अहिलेकै नेतृत्व चयनले जनतामा भारी निराशाका अलावा दर्जनौं प्रश्नको सामना कार्यकर्ताले गर्नैपर्ने स्थिति आउन सक्छ, जुन प्रशिक्षण बेगरका कार्यकर्ताका लागि निकै चुनौतीपूर्ण सावित हुनेछ ।