झापा प्रहरीले खोज्दै युबट्युब पत्रकारहरू(भिडियो हेर्नुहोस्)

समाचार

गत मंगलबार बिर्तामोडको एक होटेलमा खाजा खान पुगेका दुई स्थानीय महिला र एक जना पुरुष साथीको विषयमा भिडियो बनाएर युट्युब सहितका सामाजिक सञ्जाल मार्फत चरित्र हत्याको प्रयास गरिएको विषय सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युट्युबरको खोजी थालेको छ ।बिर्तामोडमा रहेको आँखा अस्पताल नजिकको होटल सीमानामा खाजा खान पुगेका उनीहरूले आफुहरुको युट्युबरका कारण चरित्र ह’त्या भएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएपछि प्रहरीले युट्युबरको खोजी थालेको हो ।

होटलमा खाजा खान पुगेको समयमा त्यहाँ रहेकी एक महिलाका नातामा काका ससुरा पर्ने हेमराज भट्टराईले प्रहरी र अन्य दुई जना युट्युबर समेत लगेर भिडियो बनाई बेइज्जत हुने गरी प्रचार गरेका थिए । भट्टराई र युट्युबरको सूचनामा होटल पुगेको प्रहरीले सामान्य अवस्थामा उनीहरु रहेको पाएपछि युट्युबरलाई भिडियो नखिच्न निर्देशन दिएको थियो ।प्रहरीको निर्देशन समेत लत्याउँदै भिडियो खिच्ने युट्युबर भाष्कर श्रेष्ठ सहितले भने हप्की दप्की गर्दै भिडियो खिचेर आफ्ना च्यानल मार्फत सार्वजनिक गरिदिएका थिए । उनले युट्युबमा रहेको आफ्नो स्मार्ट नेपाल च्यानल मार्फत सामान्य खाजा खाएको दृष्यलाई समेत तोडमोड गरेर होटेलमा अनैतिक क्रियाकलाप भएको आशय सहितको सामाग्री बनाएर सार्वजनिक गरेका थिए ।

त्यसैगरी युट्युबकै अन्य च्यानलमा समेत युट्युबरले सोही होटेलमा खिचिएको भिडियोलाई तोडमोड गरी खाजा खान पुगेका महिला र पुरुषको चरित्र हत्या हुने सम्मका विषय र शीर्षक राखेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।पत्रकार र मिडियाका नाममा योजनावद्ध रुपमा युट्युबरले भिडियो खिचेर चरित्र हत्या गर्ने काम गरेको भन्दै उनीहरूले भाष्कर श्रेष्ठ लगायतमाथि कानुनी कारवाही गर्न माग गरेका छन् ।

त्यसैगरी उनीहरु खाजा खान पुगेको होटलका सञ्चालक र होटेल व्यवसायी संघ बिर्तामोडका पदाधिकारीले पनि होटलमा पुगेका पाहुना र होटल नै बदनाम गराउने युट्युबरमाथि कठोर कानुनी सजायको माग गरेका छन् ।इलाका प्रहरी कार्यालय बिर्तामोडले युट्युबरका विषयमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ । कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले घटनामा संलग्न रहेको भन्दै युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे, हेमराज भट्टराई (काका ससुरा), सुभाषा कार्की, कल्पना थापा (बस्नेत) र चन्दा प्रसाइ (पाेखरेल) विरुद्ध उजुरी दर्ता भएको जानकारी गराएका छन् ।

घटनाका विषयमा प्रारम्भिक अनुसन्धानका क्रममा युट्युबरकै कारण जाहेरीकर्ताको मानहानी र बदनाम भएको पाइएकाले कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । बिर्तामोड काण्डका नामले सामाजिक सञ्जालमा चर्चामा रहेको यो विषयमा संलग्न युट्युबरको खोजीमा प्रहरी परिचालन गरिएको आचार्यले जानकारी गराएका छन् ।उनले पत्रकार अनि सञ्चारमाध्यमका नाममा युट्युबरबाट आतंक मच्चाउने र अर्नगल प्रचार गरी चरित्र हत्या गर्ने काम भएका विषयमा प्रहरीमा गुनासो आउन थालेको वताएका छन् । पैसा कमाउने उधेष्यले टेलीभिजनको नाम दिएर संचालनमा रहेका युट्युब च्यानलमाथि निगरानी गढाइएको बताउँदै आचार्यले भने – हामीले सामाजिक संजालका विषयमा निगरानी वढाएका छौं, कानुन विपरीतका गतिविधी भएको विषयमा प्रमाण सहित प्रहरी कार्यालय आए हामी कानुन बमोजिम कारवाही अघि वढाउने छौं ।

पछिल्लो समयमा युट्युबरका कारण कतिपय संवेदनशिल विषयमा अनुशन्धानमा नै अवरोध पुर्याउने काम भएको समेत सार्वजनिक भईरहेको छ । मिडिया र पत्रकारका लागि आवश्यक ज्ञान समेत नभएकाबाट पैसा कमाउनकै लागि खोलिएका युट्युब च्यानल र तिनका संचालक युट्युबरका कारण समस्या हुन थालेपछि देशैभर कानुनी कारवाहीको विषय उठ्न थालेको छ ।

झापामा भएको घटनाका विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडले चिनिएका स्थानीय युट्युबरलाई कानुनी कारवाहीको तयारी थालेपछि यो विषयलाई चासोका साथ हेरिएको छ । घटनामा संलग्नले आफुले बनाएका सामाग्री युट्युब च्यानल र सामाजिक संजालबाट हटाएको भएपनि कानुनी कारवाहीबाट पछि नहट्ने प्रहरीले तयारी गरेको छ ।
पत्रकार सम्वद्ध संघ – संस्थाले पनि बिर्तामोड घटनामा संलग्नलाई कानुनी कारवाहीमा सहयोग गर्ने बचन दिएपछि प्रहरीले पनि यो विषयलाई महत्व दिएर अनुशन्धान र कारवाहीको प्रकृया थालेको हो ।