अर्काको दल फुटाउन ल्याएको देउवा सरकारको अध्यादेशले आफ्नै दल फुटाउने चिन्ता

समाचार

पार्टी फुटाएर एर नयाँ दल खोल्नको लागि भन्दै २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सक्ने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाज वादी पार्टी एकैदिन फुट्यो । फुटेको दलभित्र फेरि फुटको सम्भावना देखिन थालेको छ । तर, अध्यादेश ल्याउने गठबन्धनका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि अप्ठ्यारो परिस्थिति आउने परिस्थिति विकास हुनलागेको छ ।

माधव नेपाल र महन्थ ठाकुरलाई सहज बनाउने गरी देउवाले अध्यादेश ल्याएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उनले भने, ठूलो मूल्य चुकाउन तयार हुनु । यसअघि नै ओलीनिकट नेता महेश बस्नेतले नेपाली काँग्रेस फुटाउने चेतावनी दिएका थिए ।

ओली र बस्नेतको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय ओलीले काँग्रेसभित्रका देउवाविरोधीसँग सम्पर्क बढाएका छन् । विभिन्न माध्यमले कुराकानी समेत चलाएका छन् । काँग्रेस महाधिवेशन पटक पटक सरेको सरै छ । फेरि नयाँ विवाद चुलिने सम्भावना बढेको छ । यसैमा ओलीले खेल्न सुरु गरेका छन् ।

काँग्रेस फुटाउन कति केन्द्रीय सदस्य र सांसद चाहिन्छ भन्ने हिसाबकिताब समेत ओलीका विश्वासपात्रहरुले गर्न थालेका छन् । प्रतिनिधि सभामा ६१ सांसद रहेको काँग्रेस अहिलेको अध्यादेशको माध्यमले विभाजित हुन खोजे १३ सांसद आवश्यक पर्छ । देउवासँग असन्तुष्ट पक्षलाई उकास्ने प्रयास चलिसकेको छ । देउवाइतर समूहसँग योभन्दा बढी सांसद संख्या छ । केन्द्रीय समितिमा पनि ४० प्रतिशत भन्दा बढी छन् । जिल्ला सभापतिहरुमा बहुमत नै छ ।

ओलीको तारो नेकपा माओवादी केन्द्रमा पनि छ । सरकारमा जान नपाएका माओवादी सांसद असन्तुष्ट हुँदै गएका छन् । मन्त्रिमण्डल विस्तार भएपछि असन्तुष्टि अझ चुलिन सक्छ । ओली समूह त्यसको पर्खाईमा छ । ४९ सांसद भएको माओवादी फुट्न अहिलेको अध्यादेशको आधारमा १० सांसद भए पुग्छ । असन्तुष्ट पक्ष माओवादीभित्र जन्मिइसकेको र उनीहरु विस्तारै संगठित हुन थालेका छन् ।

यसैगरी, ओलीलाई एमाले फेरि फुटबाट जोगाउन कठिन छ । माधव नेपाल समूह १२१ सांसदमध्ये ३१ जना र केन्द्रीय सदस्य ५६ जना लिएर नयाँ पार्टी दर्ता गर्न पुगेका छन् । अब बाँकी ९० सांसदमध्येबाट पार्टी फुटाउन २० सांसद भए पुग्छ । नवौं महाधिवेशनबाट बनेका २०३ केन्द्रीय सदस्य मध्ये ५६ जना घटेका छन् । अब बाँकी १४७ मध्येबाट एमाले फुटाउन ३० केन्द्रीय सदस्य भए पुग्छ । भीम रावललगायत नेताहरु ३७ जना छन् । उनीहरुको फरक समूह छ ।

ओलीले विधान महाधिवेशन गर्न खोजे एमाले फेरि फुट्ने सम्भावना छ । त्यसको लागि असन्तुष्ट समूहले तयारी समेत गरिसकेको छ ।जनता समाजवादी पार्टीबाट ३२ सांसदमध्ये १३ जना सांसद लगेका छन् । अब उपेन्द्र यादव नेतृत्वको जसपासँग १९ सांसद छन् । यादव समूहमा पनि सरकारमा जाने विषयले नयाँ विवाद जन्माउने देखिइसकेको छ । त्यतिबेला जसपा फेरि नफुट्ला भन्न सकिन्नँ । फेरि जसपा विभाजन गर्नका लागि ४ सांसद भए पुग्छ ।यसरी नै घटनाक्रम विकास भएमा पार्टीहरुको फुटको क्रम चलिरहने देखिन्छ । २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पार्टी फुटाउन सकिने अध्यादेशले धेरै पार्टीहरु चकनाचुर बनाउने देखिदैछ ।