अन्ततः यस्तो ‘सिम्पल ट्रिक’ लगाएर सुर्य चिन्हलाई आफ्नो बनाएरै छाड्नेभयो ओली पक्षले, प्रचण्ड-नेपाल पक्ष हेरेको हेर्यै

समाचार

काठमाडौ। निर्वाचन आयोगले नेकपाको दल आधिकारिकता विवाद बढ्दै गएपछि अध्यक्ष ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत २३ पुसमा पत्र पठाएर आवश्यक कागजात मागेको थियो।

आयोगले पत्र पठाएपछि बुधबार ओली निकट नेता सुवास नेम्बाङ जवाफी पत्र सहित आयोग गएका छन्। उनले केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जवाफी पत्र बुझाउन उनी आयोग गएका हुन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगलाई दुबै पक्षबाट कागजात आएको र प्राप्त कागजातको अध्ययन गर्ने बताए। तर पत्रमा के कस्ता विवरण बुझाइएको छ भन्ने बारे भने उनले अध्ययनपछि मात्रै जानकारी हुने जनाए।

स्रोतका अनुसार ओली समूहले आयोगमा बुझाएको पत्रमा पार्टी विभाजन नभएको जिकिर गरेको छ। यसैगरी पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै रहेको समेत भनिएको छ।

ओलीको हस्ताक्षरसहित आयोगमा बुझाइएको पत्रमा ‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु, द्धितीय अध्यक्ष पुष्पकमल दाहाल रहनु भएको छ, दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरि दायर गरेको निवेदन औचित्यहीन छन्,’ लेखिएको छ।

अहिले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह सुर्य कस्ले पाउने भन्ने संघर्ष चलिरहेको छ। यसको निक्र्यौल निर्वाचन आयोगले गर्नेछ। ओलीले पार्टीको अध्यक्षबाट प्रचण्डलाई हटाएका छैनन्।

सचिवालयबाट कसैलाई हटाएका छैनन्। उनले यसअघिको कमिटीलाई यथावत् राखेर केन्द्रीय कमिटी विस्तार मात्र गरेको जानकारी आयोगलाई दिएका छन्।

प्रचण्डले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई बनाएका छन्। यस अर्थमा ओली पुरानो कमिटीलाई यथावत् राखेर विस्तार मात्र गरिएको निर्णयसहित अडिएका छन्।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पार्टीको वैधानिकताको छिनोफानो गर्नुपर्ने हुन्छ। राजनीतिक दलसम्बन्धी ऐनले कुनैपनि दल एकीकरण भएको पाँच वर्षसम्म फुट्न नसक्ने स्पष्ट उल्लेख गरेको छ।

यस अर्थमा नेकपा फुट्न सक्दैन। फुट्नका लागि अध्यादेश ल्याएर ऐन संशोधन गर्नुपर्ने हुन्छ। ४० प्रतिशत केन्द्रीय कमिटी सदस्य अलग हुन चाहँदा पनि नेकपा फुट्न मिल्दैन। किनभने नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा एकीकरण भएको पाँच वर्ष पूरा भएको छैन।