कांग्रेस महाधिवेशन भदौमा गर्ने प्रस्ताव, केन्द्रीय समिति बैठक सुरू

समाचार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ । केहीबेर अघि सुरू केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक सुरू भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ । छलफलपछि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा भदौमा महाधिवेशन हुनेछ। भदौमा महाधिवेशन गर्न देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने हुन्छ। संविधानको व्यवस्थाअनुसार अब छ महिना म्याद थप गर्न मिल्छ । सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ। कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो। तीन घण्टा ढिलो गरी बैठक सुरू भएको छ । बैठक बस्नुअघि सभापति र वरिष्ठ नेता पक्षका केन्द्रीय सदस्य आन्तरिक छलफलमा जुटेका थिए । कांग्रेसले आजको केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिकासमेत सार्वजनिक गर्ने तयारी गरेको छ।