सीआईबीलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान

समाचार


१८ फागुन, काठमाडौं । प्रहरी निरीक्षक सुदर्शन पन्थीले जागिर सुरु गरेको पाँच वर्षमै अन्तर्राष्ट्रिय समुदायले पत्याउने अनुसन्धान अधिकृत बन्छु भन्ने सायदै सोचेका थिए ।

नेपाल प्रहरीमा आधा दशकको सेवा अवधि खासै धेरै होइन । अधिकृतहरुका अनुसार यो अवधि सिनियरको मातहतमा बसेर काम सिक्ने समय हो ।तर, अर्घाखाँची घर भएका इन्स्पेक्टर पन्थीले यही अवधिमा अन्तर्राष्ट्रिय समुदायले पत्याउने अनुसन्धान गरेका छन् ।

उनले संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले दिने सन् २०२१ को अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । पन्थीसँगै प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहरीले संयुक्तरुपमा यो अवार्ड पाएका हुन् ।

ब्युरोका प्रमुख सहकुलबहादुर थापाका अनुसार अवार्डका लागि नेपाल प्रहरी वा कुनै नेपालका निकायले सिफारिस गरेका थिएनन् । ‘कार्यक्रमले बनाएको स्वतन्त्र प्यानलको छनौटमा पुरस्कार दिइँदो रहेछ’, थापाले अनलाइनखबरसँग भने, ‘यसले सीआईबी, नेपाल प्रहरी मात्र होइन, सिंगो देशकै प्रतिष्ठा बढाएको छ ।’

सुरुवातमै अन्तर्राष्ट्रिय चिनारी

इन्स्पेक्टर पन्थीले २०७२ सालमा प्रहरी सेवा प्रवेश गरेका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तालिम लिँदा निरजबहादुर शाही (हालका प्रहरी अतिरिक्त महानिरीक्षक–एआईजी) ‘कमाण्डेन्ट’ थिए । त्यसवेलै शाहीको नजरमा परेका उनले पहिलो पोष्टिङ जिल्ला प्रहरी कार्यालय, रोल्पामा पाए ।

२०७५ सालमा शाही प्रहरी नायब महानिरीक्षक (डीआईजी) भएर सीआईबीमा निर्देशकका रुपमा सरुवा भए । ब्युरोमा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्न अंग्रेजी राम्रोसँग जान्ने अधिकृत चाहिएको थियो । त्यहीवेला शाहीले पन्थीलाई सम्झिए ।‘सरले रोल्पाबाट बोलाउनु भएयता २८ महिनादेखि सीआईबीमै काम गरिरहेको छु’, पन्थी भन्छन्, ‘सुरुवातबाटै वन्यजन्तु सम्बन्धी अपराधको अनुसन्धानमा खटिन पाएँ, यो मेरो लागि चुनौति र अवसर दुवै थियो ।’

यो अवधिमा अन्तर्राष्ट्रिय अवार्ड पाउँदा उनी खुशी छन् । पन्थी भन्छन्, ‘आमनागरिकको सोचमा यसलाई अपराध नै नमान्ने अवस्था रहेका वेला यस्तो पुरस्कारले वन्यजन्तु चोरी, तस्करी पनि कसूर रहेछ भन्ने सन्देश दिन पनि सहयोग गर्छ ।’अनुसन्धान हुटहुटीले ब्युरोमा

सई वीरेन्द्रसिंह जोहरीको सीआईबी यात्रा भने भिन्नै छ । ब्यास गाउँपालिका–२, दार्चुलामा जन्मिएका उनी सानैदेखि वन्यजन्तु र वनस्पतीको चोरी शिकारीबारे सुन्दै आएका थिए । ‘दार्चुला, बझाङ, हुम्ला, बाजुरा, पूर्वको संखुवासभा, ताप्लेजुङ, रसुवा र सिन्धुपाल्चोकलाई वन्यजन्तु चोरी शिकारी र तस्करीको हब नै मानिन्छ’, जोहरी भन्छन्, ‘मेरो पृष्ठभूमि पनि दार्चुलाको भएकाले पहिल्यैदेखि यस सम्बन्धी विषयमा रुचि थियो ।’

तर, जोहरीले वन्यजन्जु चोरी, शिकारी सम्बन्धी कसूरको अपराध अनुसन्धान गर्ने अवसर जागिर सुरु गरेको ११ वर्षपछि मात्रै पाए । ‘सीआईबीमा अनुसन्धान अधिकृत मागिएको थियो, मेरो लागि त्यो राम्रो अवसर थियो गएर निवेदन दिएँ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसवेला अहिलेजस्तो सीआईबीमा सिधै सरुवा हुँदैन्थ्यो, परीक्षा दिएर पास भएपछि काम गर्न पाएँ ।’

उनका अनुसार तत्कालीन निर्देशक केशबहादुर शाहीले उनको पृष्ठभूमिबारे थाहा पाएपछि वन्यजन्तु सम्बन्धी अपराध हेर्ने पिल्लर नं. ४ मा जिम्मेवारी दिए । त्यसयता जोहरीले फर्किएर हेर्नुपरेको छैन । भन्छन्, ‘चोरी तस्करी धेरै हुने दार्चुलाबाट म आएको भएर पनि अनुसन्धानमा सहज भएको छ ।’

अन्य अधिकृतहरु आकर्षक पोष्टिङ पाउन अनेकतिर धाउँछन् । तर, जोहरी ब्युरोमै सन्तुष्ट छन् । भन्छन्, ‘यहीँ बसेर अनुसन्धानमा खटिँदा अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार पाएको छु, यसैले सन्तुष्टि दिन्छ ।’

यसअघि उनले सन् २०१५ मा ‘अब्राहम कन्जर्भेसन अवार्ड’ पाएका थिए भने विभिन्न निकुञ्ज र वनबाट पनि राष्ट्रिय स्तरका पुरस्कार पाएका छन्अवार्ड दिलाउने अनुसन्धान

पन्थी र जोहरीले अन्तर्राष्ट्रिय अवार्ड कसरी पाए ? यो जान्न चाहिँ २०६२ सालमा रसुवामा भएको एउटा ‘अपरेशन’ तिर फर्किनुपर्छ ।

रसुवाको स्याफ्रुवेसी क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाको टोलीले १६ भदौ २०६२ मा ५ वटा बाघ, ३६ चितुवा, २३८ वटा ओटको छाला र ११३ किलो बाघको हड्डी बरामद गर्‍यो । सई जोहरीका अनुसार यो वन्यजन्तु चोरी, शिकारीमा हालसम्मकै सबैभन्दा ठूलो बरामदी थियो ।

त्यसवेला लाङटाङमा दक्ष अनुसन्धान अधिकृत नभएकाले चितवन राष्ट्रिय निकुञ्जबाट तत्कालीन सहायक वार्डेन एवं अधिकृत दिवाकर चापागाईं नेतृत्वको टोली रसुवातर्फ गयो । घटनामा ५ जना तस्कर पक्राउ परेलगत्तै सीआईबीको पिलर ४ ले चासो दिइसकेको थियो र सूचना संकलन गरिरहेको थियो ।

त्यहीवेला चापागाईं नेतृत्वको टोलीले यो प्रकरणमा थप चार जनाको संलग्नता खुलायो । जोहरी भन्छन्, ‘नाम खुलेका व्यक्तिमा कुञ्जोक लामा, निटुब लामा, दाण्डुम लामा र पेमा लामा थिए ।’ तीमध्ये कञ्जोक वन्यजन्तु चोरी, तस्करी सम्बन्धी हरेक घटनामा सुनिने नाम थियो । तर, उनीबारे विस्तृत सूचना कुनै निकायसँग थिएन ।

कुञ्जोक लामा ।
‘निकुञ्जले पनि कुञ्जोकको संलग्नता देखिएसँगै ब्युरोसँग सहकार्य गर्‍यो’, जोहरी सम्झन्छन्, ‘त्यसयता उनको खोजीमा पिल्लरका सबै संयन्त्र लगाएका थियौं, तर भेटिएका थिएनन् ।’ इन्स्पेक्टर पन्थीका अनुसार अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले पनि कुञ्जोकबारे चासो लिने गरेको थियो ।

भारतको चर्चित ‘बार्बरिया पोचिङ नेटवर्क’सँग उनको सम्पर्क देखिएपछि इन्टरपोलले उनीमाथि चासो दिन थालेको थियो । ‘नेपाल–भारत सीमा क्षेत्रमा बाघ मर्ने र त्यसलाई तिब्बत लैजाने घटना बढेपछि सन् २०१६ मा इन्टरपोलले बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाल र भारतका सुरक्षा निकायसहितको बैठक राख्यो’, पन्थीले अनलाइनखबरसँग सुनाए, ‘त्यसमा दुवै देशका सुरक्षा अधिकारीसँग भएको सूचना साटासाट भयो, जसले अनुसन्धानलाई सहयोग गर्‍यो ।’

उनका अनुसार इन्टपोलले कुञ्जोकबारे एउटा लिखित रिपोर्ट समेत तयार गरेर ब्युरोलाई पठाएको थियो । प्रहरीले कुञ्जोकबारे अनुसन्धान गरिरहेको वेला २०७२ सालमा ४ किलो सालकको खपटासहित कोन छिरिङ तामाङ (कुञ्जोक लामा) नामक व्यक्ति बाँकेबाट समातिए । अनुसन्धान अधिकृतले उनी नै अन्तर्राष्ट्रिय खोजीको तस्कर कुञ्जोक हुनसक्ने आशंका गरे ।

तर, सोछपुछ र अनुसन्धानबाट उनी अर्कै व्यक्ति भएको खुल्यो । त्यसयता दर्जनौं व्यक्तिमाथि अनुसन्धान भए, कुञ्जोक छिरिङ तामाङ नाम गरेका व्यक्ति पनि बौद्धबाट समातिए । उनी कुञ्जोक नाम गरेका व्यक्ति धेरै भएको बताउँदै सामान्य कागजी बयान दिएर उम्किए । कागजमा उनले आफ्नो मोबाइल नम्बर पनि टिपाएका थिए ।

पिल्लरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) फेरिँदै पिच्छे कुञ्जोकको खोजी मुख्य मिसन बनिरहेको थियो । कुञ्जोक कहाँ छन् खुलेको थिएन । अनुसन्धान जारी रहेकै वेला सई जोहरीको नजर २०६२ सालको पुरानै मिसिलतिर पर्‍यो । त्यसमा दुई जना आरोपीको बयानमा कुञ्जोकबारे उल्लेख गरिएको थियो । त्यसमा कुञ्जोकको हुलियाबारे मात्र बताइएको थिएन, उनको मोबाइल नम्बर पनि उल्लेख गरिएको थियो, ९८५१०३८… ।

‘अवैध सामान बरामद भएको समयमा त्यस नम्बरको कल डिटेल हेर्न सकिए, सम्पर्कबारे खुल्ने र थप अनुसन्धान सहज हुने अनुमान गरेको थिएँ’, जोहरी भन्छन्, ‘त्यसका लागि नेपाल टेलिकमसँग समन्वय भइरहेका वेला नयाँ तथ्य फेला पर्‍यो, जसले अनुसन्धानलाई नयाँ मोडमा लग्यो ।’ इन्स्पेक्टर पन्थीका अनुसार त्यसवेलाको मिसिलमा भेटिएको नम्बर पहिले सोधपुछ गरेर छाडिएका कुञ्जोक छिरिङ तामाङले टिपाएका रहेछन् ।

यो पनि पढ्नुहोस
२१ वर्षदेखि प्रहरी पत्रकार
अनुसन्धान साँघुरो बनिरहेका वेला यो मोबाइल नम्बर पछिल्लो समय समेत सक्रिय रहेको खुल्यो । २०५७ सालमा किनिएको सीम कार्ड २०६२ सालमा रसुवामा सामान बरामद हुँदा सक्रिय देखियो, त्यसयता बीचमा बन्द रहेको भेटिएको पन्थी बताउँछन् ।

केही वर्षदेखि मात्रै त्यो नम्बर खुलेको भेटिएकाले पनि पहिले बयान लिएर छाडिएको व्यक्ति नै कुञ्जोक हुनसक्ने आशंकालाई बल पुग्यो । लामो समयपछि टेलिकमले अर्कै व्यक्तिलाई त्यो नम्बर दिएको पनि हुनसक्ने सम्भावना थियो तर, पहिले सोधपुछमा ल्याइएकै व्यक्तिसँग त्यो नम्बर हुनु संयोग मात्र हुने कुरा थिएन ।

‘वस्तुस्थितिले उनीमाथि फेरि अनुसन्धान गर्ने बाटो त खोल्यो तर, छानविनमा कानुनी अड्चन थियो’, पन्थी सम्झन्छन् । कानुनतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार वन्यजन्तु सम्बन्धी कसूरमा प्रहरीले अभियुक्त पक्राउ गरेको २४ घन्टाभित्र थप कारबाही प्रक्रियाका लागि राष्ट्रिय निकुञ्ज वा जिल्ला वन कार्यालयमा लैजानुपर्छ । ‘राम्रो अनुसन्धान नगरी पक्राउ गर्दा बुझाउने वित्तिकै प्रमाण अभावमा छुट्ने सम्भावना थियो’, उनले थपे, ‘त्यसैले कुञ्जोकविरुद्ध थप प्रमाण जुटाउनतर्फ ध्यान केन्द्रीत गर्‍यौं ।’

सई जोहरी ।
प्रहरीले उनको पछिल्लो कल डिटेल रेकर्ड (सीडीआर) निकालेर सम्पर्क भएका व्यक्तिहरुबारे अनुसन्धान गर्‍यो । उनले सिम निकाल्दाको विस्तृत विवरण लियो । त्यति मात्र नभइ, बैंकिङ कारोबारको विवरणसमेत हेरेपछि प्रहरी उनै कुञ्जोक हुनसक्नेमा निचोडमा पुग्यो ।

‘बौद्धमा उनी बस्ने ठाउँ थाहा पाइसकेका थियौं, त्यही पनि रंगहात समात्ने योजना थियो’, जोहरी भन्छन्, ‘रेकी गरेर समात्न जाने दिन फोन हान्यौं, पहिले सोधपुछ गरिएकै व्यक्तिको गोजीमा मोबाइल बज्यो ।’ त्यसपछि घेरेर नाम के हो भनेर सोध्दा उनले फुत्काइ हाले, ‘कुञ्जोक लामा ।’ पछि सोधपुछका क्रममा उनले आफू नै कुख्यात वन्यजन्तु तस्कर भएको स्वीकार गरे ।

तर, उनले गैरकानूनीरुपमा पक्राउ गरिएको भन्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिए । प्रहरीले उपलब्ध गराएको प्रमाणको आधारमा अदालतले रिट निवेदन खारेज हुने ठहर गर्‍यो । यससँगै नेपाल, चीन, भारतसहितका मुलुकमा वन्यजन्तु तस्करीको र्‍याकेट चलाउँदै आएका कुञ्जोकको हिरासत यात्रा सुरु भएको छ ।

प्रहरी अधिकृतहरुले उनको गिरफ्तारीले नेपालबाट हुने वन्यजन्तुको चोरी, शिकारीको ठूलो सञ्जाल तितरवितर भएको भनेका छन् । पन्थी भन्छन्, ‘अन्य केही व्यक्ति पनि खोजी गरिरहेका छौं, तर अहिलेलाई कुञ्जोक सुमातिनु नै महत्वपूर्ण सफलता हो ।’