सेयर बजारलाई तरलता र ब्याजदरको त्रास

समाचार


१७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत ४–५ वर्षदेखि लगानीयोग्य रकम (तरलता) को निकै ठूलो समस्या झेले । लगानी योग्य रकम अभाव हुँदा बैंकहरुले माग भइ आएको कर्जाको फाइल टेवलमा थन्काएर बस्न बाध्य भए ।

तर, कोरोना पछि भने अवस्था फरक रह्यो । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसायहरु ठप्प रहे । त्यसपछि कर्जाको माग सुस्तायो र बैंकमा तरलता थुप्रियो । अहिले भने पुनः तरलता अभाव हुने त्रास सेयर बजारका लगानीकर्ताहरुमा देखिएको छ ।‘कोरोनापछि अन्य क्षेत्र सुस्त हुँदा सेयर बजारमा उत्साह छाएको थियो, बजारमा उत्साह आउनुको मूख्य कारण भने तरलता र ब्याजदर नै हो’ सेयर विश्लेषक हरिकुमार कार्की भन्छन्, ‘त्यो उत्साह अहिले पनि कायमै छ, केहि दिन घट्दा कतै समस्या होला कि भन्ने आशंका गरिएको छ ।’

तर, अहिले नै तरलता घट्ने र ब्याजदर बढ्ने सम्भावना नरहेको उनी बताउँछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी निकै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार फागुनको दुई सातामै ४५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुले कर्जा लगानी विस्तार गरेका छन्. ।

गत माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ३३ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो । ७ फागुनसम्म बैंकहरुको कर्जा लगानी १८ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ३५ अर्ब रुपैयाँ पुग्यो ।

१४ फागुनसम्म आइपुग्दा भने ३० माघको तुलनामा ४५ अर्ब रुपैयाँले कर्जा लगानी बढेर ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । कर्जा जुन अनुपातमा वृद्धि भएको छ सो अनुपातमा निक्षेप भने वृद्धि हुन सकेको छैन । संघका अनुसार दुई साताको अवधीमा निक्षेप २३ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ ।

३० माघमा ३७ खर्ब ८६ अर्ब रहेको वाणिज्य बैंकहरुको निक्षेप ७ फागुनमा ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो । १४ फागुनमा भने २३ अर्बले बढेर ३८ खर्ब ९ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । बैंकहरु कर्जा लगानीमा आक्रामक बनेपनि निक्षेप संकलन भने राम्रो छैन ।

तरलता पर्याप्त हुँदा बैंक ब्याजदर पनि घट्छ । कोरोनापछि तरलता अधिक हुँदा कर्जाको ब्याजदर अहिले पनि धेरैजसो एकल अंकमा नै छ । तर, यता तरलता अभाव हुँदै जाने र बैंकहरुको बेस रेट पनि बढ्न थालेपछि अप्ठेरोमा परिएला कि भन्ने लगानीकर्ताहरुमा त्रास छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल १ फागुनमा बेस रेट बढेको देखिए पनि चैत्रमा भने घट्ने दावी गर्छन । यसकारण ब्याजदर बढ्छ र त्यसको नकारात्मक असर सेयर बजारमा पर्छ भनेर डराउनु पर्ने अवस्था नरहेको उनी बताउँछन् ।

‘ढुक्क हुनुस १ फागुन भन्दा १ चैतको वाणिज्य बैंकहरुको समग्र बेसर रेट घटेर आउँछ’ नेपाल इनभेष्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका पौडेल भन्छन्, ‘कान छामौं, तत्य तथ्यांकमा विश्वास गरौं ।’

के छ तरलताको अवस्था ?

कर्जा लगानीमा बैंकहरु आक्रामक बन्दा धेरै रहेको तरलता निकै कम भएको छ । अहिले बजारमा ७१ अर्ब रुपैयाँ तरलता छ । हालसम्म नेपाल राष्ट्र बैंकले प्रशोचन गरेर राखेको ९ अर्ब ५४ करोड रुपैयाँ रहेको प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

राष्ट्र बैंकमा रहेको समेत जोड्दा ८० अर्ब रुपैयाँ हाराहारीमा तरलता पुग्छ । यसरी हेर्दा तरलता निकै घटेको प्रष्ट हुन्छ । ‘केही समय अघिसम्म बैंकहरुमा तरलता निकै धेरै थियो, पुसको मध्यतिरकै तथ्यांक हेर्दा पनि २ खर्ब रुपैयाँ तरलता थियो’ प्रवक्ता भट्ट भन्छन्, ‘त्यो हेरि अहिले ८० अर्ब हाराहारीमा हुनु भनेको त धेरै कम हो ।’

बैंकहरुमा कर्जा धेरै थुप्रिनुभन्दा लगानी भएकै राम्रो मानिन्छ । पहिले अत्यधिक धेरै भएकाले अहिले ८० अर्ब हुँदा पनि थोरै जस्तो लागेको प्रवक्ता भट्ट बताउछन् । यही आधारलाई हेरेर अहिले नै तरलता अभाव हुन्छ भन्न नसकिने उनले बताए ।

राष्ट्र बैंकले पनि पुनर्कर्जा दिइरहेको छ । यसले बजारमा तरलता बढाउँछ । ‘४० अर्ब रुपैयाँ त रिफाइनान्सिङ स्वीकृत नै भइसकेको छ’ उनले भने, ‘हुन त यो एकै पटक बजारमा जादैन, तर पनि अहिले नै तरलता अभाव हुने सम्भावना छैन ।’

बेस रेटको अवस्था

कोरोना पछि बैंकहरुको आधार दर (बेस रेट) पनि घटेको छ । जसको प्रभाव ब्याजदर सस्तो भएको हो । कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धि र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९÷७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागू गर्ने उल्लेख गरेको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागू भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखिमात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ ।

तर, आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात् बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।
Source: onlinekhabar